
काठमाडौं – चलचित्र विकास बोर्डले बक्स अफिस प्रणाली (Box Office @ Cinema) मा प्राविधिक समस्या देखिएको भन्दै सूचना जारी गरेको छ। बोर्डले जारी गरेको सूचनामा भनिएको छ कि केन्द्रीय चलचित्र व्यवस्थापन प्रणाली (Central Cinema Management System – CCMS), जिआइसीसी सिंहदरबारमा उत्पन्न प्राविधिक समस्याका कारण पछिल्ला ४३ घण्टादेखि प्रणालीमा समस्या देखिएको हो।
सूचनामा भनिएको छ, “सर्भर अस्थायी रूपमा प्रभावित भई पछिल्ला ४३ घण्टादेखि बक्स अफिस प्रणालीमा समस्या देखिएको छ।” तर, बोर्डले स्पष्ट पारेको छ कि नेपालभर प्रदर्शनमा रहेका चलचित्रहरूको सम्पूर्ण रियल टाइम बक्स अफिस डेटा सुरक्षित रूपमा सञ्चित रहेको छ। डेटा हराएको वा मेटिएको भ्रम फैलाउन नहुने बोर्डको भनाइ छ।
बोर्डका अनुसार, प्राविधिक टोली निरन्तर मर्मत कार्यमा सक्रिय छ र शीघ्रै प्रणाली पुनः सुचारु गरी बक्स अफिसमा रियल टाइम रिपोर्ट हेर्न मिल्ने व्यवस्था गरिनेछ।
बोर्डले सूचनामा प्राविधिक समस्याका कारण भएको असुविधाप्रति क्षमा याचना गर्दै चलचित्र क्षेत्रका सरोकारवालाको धैर्य, सहयोग र समझदारीका लागि धन्यवाद व्यक्त गरेको छ।
हालै सामाजिक सञ्जालमा ‘बक्स अफिस हराएको सूचना’ भन्ने हल्ला फैलिएपछि चलचित्र विकास बोर्डले यो सूचना सार्वजनिक गरेको हो।






