ओएसआर डिजिटलको ऐतिहासिक फड्को, १ करोड सब्स्क्राइबर पुग्ने पहिलो नेपाली युट्युब च्यानल



काठमाडौं – नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा महत्त्वपूर्ण उपस्थिति जनाउँदै आएको ओएसआर डिजिटल युट्युब च्यानलले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो च्यानलले हालै १ करोड (१० मिलियन) सब्स्क्राइबरको आँकडा पार गर्दै नयाँ कीर्तिमान कायम गरेको हो। यससँगै ओएसआर डिजिटल, व्यावसायिक र आधिकारिक सामग्री उत्पादन तथा वितरण गर्ने नेपाली चलचित्र तथा संगीतका च्यानलहरूमध्ये १ करोड सब्स्क्राइबर पुग्ने पहिलो च्यानल बनेको छ।

संस्थाको २५ वर्ष लामो यात्रा, निरन्तर प्रयास र दर्शकको अटुट विश्वासको प्रतिफलका रूपमा यस सफलतालाई हेरिएको छ। च्यानलले यो विशेष उपलब्धि हासिल गरेको अवसरमा प्रबन्ध निर्देशक ओम अग्रवालले सम्पूर्ण दर्शक, कलाकार, सङ्गीतकर्मी र टिमप्रति गहिरो आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा अझ परिष्कृत र उच्च गुणस्तरका सामग्रीहरूका साथै नयाँ योजनाहरू लिएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

अग्रवालका अनुसार भि.सि.डी. र डि.भि.डी.को माध्यमबाट सुरु भएको मनोरञ्जन यात्रा युट्युबको यो कोसेढुंगासम्म आइपुग्न विभिन्न चुनौती पार गर्नुपरे पनि यो यात्रा प्रेरणादायी साबित भएको छ। “तपाईँहरूको हरेक भ्युज, लाइक र कमेन्ट नै हाम्रो ऊर्जा हो,” उनले भने, “दर्शकहरूको अमूल्य साथ र सहयोगले आज यो सपनालाई एउटा विशाल परिवारको रूप दिएको छ।”

ओएसआर डिजिटलले नेपाली चलचित्र, गीत–सङ्गीत, वेभ सिरिज तथा अन्य मनोरञ्जनात्मक भिडियोहरू नियमित रूपमा सार्वजनिक गर्दै डिजिटल बजारमा आफ्नो पकड बलियो बनाएको छ। कम्पनीले अब अन्तर्राष्ट्रिय दर्शकहरूका लागि समेत सामग्री विस्तार गर्ने महत्त्वाकाङ्क्षी योजना अगाडि सारेको जानकारी दिइएको छ। यसका साथै, ओएसआर डिजिटलका अन्य सहायक च्यानलहरू, ‘ओएसआर रियालिटी’ र ‘ओएसआर मुभिज’ पनि सक्रिय रूपमा सञ्चालनमा छन्, जसमध्ये हरेकमा २ मिलियनभन्दा बढी सब्स्क्राइबर छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu