‘परान’ हेरेर ‘परान’ चिनाउनेलाई लाखको पुरस्कार



काठमाडौं – कार्तिक १४ गतेदेखि प्रदर्शनमा आउन लागेको पारिवारिक कथामा आधारित चलचित्र ‘परान’ ले दर्शकहरूलाई हलसम्म आकर्षित गर्न एक लाख रुपैयाँको आकर्षक नगद पुरस्कार घोषणा गरेको छ। निर्माण पक्षले ‘मेरो परान’ नामक प्रतिस्पर्धाको आयोजना गर्दै उक्त ठुलो पुरस्कार राशिको घोषणा गरेको हो।

यस प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो जीवनको ‘परान’ को हो भनेर खुलाउनुपर्नेछ। प्रतियोगीले आफ्नो ‘परान’ (जस्तै: बुबा, आमा, श्रीमान्, श्रीमती, प्रेमी/प्रेमिका, साथीभाइ, दाजुभाइ, दिदीबहिनी आदि) सँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ। तस्बिरको क्याप्सनमा ‘मेरो परान’ लेख्दै सम्बन्धित व्यक्तिबारे आफ्नो भावना व्यक्त गर्न सकिनेछ। तर, उक्त पोस्टलाई अनिवार्य रूपमा चलचित्रको आधिकारिक फेसबुक पेजमा ट्याग गर्नुपर्नेछ।

निर्माण पक्षका अनुसार यसरी पोस्ट गर्नेमध्ये एक भाग्यशाली विजेतालाई गोला प्रथामार्फत एक लाख रुपैयाँ प्रदान गरिनेछ। यसका साथै, थप १०० जना सहभागीहरूले चलचित्रको विशेष शोको टिकट जित्ने अवसर पाउनेछन्। यो प्रतियोगिता चलचित्र प्रदर्शनको एक सातापछि, अर्थात् कार्तिक २० गतेसम्म मान्य रहनेछ।

यसबाहेक, चलचित्रको प्रचार-प्रसारका लागि स्वयंसेवकहरूको एक टोली सहरका विभिन्न भागमा ‘परान’ को क्युआर कोड सहित परिचालन हुनेछ। सो क्रममा क्युआर कोड स्क्यान गरी चलचित्रको ट्रेलर वा गीतहरू सेयर गर्ने ५० जना भाग्यशाली दर्शकले कलाकारहरूसँगै बसेर चलचित्र हेर्ने विशेष अवसर प्राप्त गर्नेछन्। यो अवसरसमेत कार्तिक २० गतेसम्मका सहभागीहरूका लागि खुला रहनेछ।

गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छा तथा विज्ञापन क्षेत्रमा तीन दशक लामो अनुभव बोकेको प्रिज्मा एड्भर्टाइजिङ एजेन्सीका प्रमुख रञ्जित आचार्यको प्रत्यक्ष सहभागिता तथा लगानी रहेको कारण ‘परान’ लाई नेपाली चलचित्र बजारले विशेष चासोका साथ हेरेको छ। व्यापारिक जगत्का यी दुई प्रतिष्ठित व्यक्तिको आगमनले चलचित्रले उच्च गुणस्तर र सशक्त प्रस्तुति बोकेको हुनसक्ने अपेक्षा दर्शकमा बढेको छ।

बुबा र छोराको सम्बन्धको कथावस्तुमा केन्द्रित यस चलचित्रमा वरिष्ठ अभिनेता नीर शाहले शीर्ष भूमिकामा अभिनय गरेका छन्। ‘सक्किगोनी’ फेमका दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यो पहिलो चलचित्र हो। केही समयअघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले राम्रो प्रतिक्रिया पाइसकेको छ।

चलचित्रमा नीर शाहका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई तथा बाल कलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारीको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu