
काठमाडौं – हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘वरिष्ठ बलराम’मा समावेश गीत ‘न्याउली बनैमा’ले युट्युब चार्ट्समा नयाँ कीर्तिमान कायम गरेको छ । पछिल्लो २८ दिनको तथ्याङ्क अनुसार यो गीत युट्युबको शीर्षस्थानमा उक्लन सफल भएको हो ।
‘भ्वाइस अफ नेपाल’को चौथो सिजनका फाइनलिस्ट प्रशान्त सिवाकोटीले सङ्गीतबद्ध गरेको यो कर्णप्रिय गीतले अहिले युट्युबमा १ करोडभन्दा धेरै पटक हेरिने ‘करोड क्लब’को यात्रा पनि पूरा गरिसकेको छ । गीतमा सिवाकोटीलाई लोकप्रिय गायिका शान्तीश्री परियारले स्वरमा साथ दिएकी छन् । प्रदीप लामाको नृत्य निर्देशनमा तयार भएको यस भिडियोमा अभिनेता विजय बराल र अभिनेत्री समृद्धि अर्यालको मनमोहक नृत्य तथा रोमान्स देख्न सकिन्छ ।
आकर्षक लय र सुमधुर गायनका कारण यो गीत यति बेला सामाजिक सञ्जाल प्लेटफर्म टिकटक र रिल्समा अत्यधिक प्रयोग भई व्यापक रूपमा रुचाइएको छ । साथै, हलमा चलचित्र हेर्ने दर्शकले पनि यस गीतको धुनमा भरपुर मनोरञ्जन लिइरहेका छन् ।






