यार्सागुम्बाको खोजीमा जीवनको सङ्घर्ष बोकेको चलचित्र बन्ने



काठमाडौं – नेपाली रजतपटमा एउटा फरक र साहसिक कथावस्तु बोकेको फिचर चलचित्र ‘हिमालयन गोल्ड’ निर्माण हुने भएको छ। छायाँलय फिल्म्सले मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेशस्थानमा शुभ मुहूर्त गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गर्‍यो। ‘ह्वाइट एलिफन्ट मोशन पिक्चर्स’सँगको सहकार्यमा बन्न लागेको यस चलचित्रको छायाङ्कन आगामी नोभेम्बर महिनादेखि सुरु हुने जनाइएको छ।

चलचित्रको मूल कथावस्तु हिमाली क्षेत्रको ‘कठोरता र भव्य परिवेश’मा केन्द्रित छ। सन् १९९२ को ऐतिहासिक पृष्ठभूमिलाई आधार बनाएर तयार पारिएको यस चलचित्रले यार्सागुम्बा, जसलाई औषधीय महत्त्वका कारण ‘हिमालयन गोल्ड’ पनि भनिन्छ, त्यसको सङ्कलनमा निस्किएकी एक ‘गाउँले युवतीको सङ्घर्ष’लाई पर्दामा उतार्नेछ। हिमाल चढ्ने क्रममा ती युवतीले ‘निर्दयी लुटेरा समूह’सँग सामना गर्नुपरेपछि सुरु हुने जीवन, साहस र आशाको कथालाई चलचित्रले मुख्य विषय बनाएको छ।

चलचित्रको लेखन तथा निर्देशन ‘धिराज राजवंशी’ले गर्दैछन्। लस एन्जलस फिल्म स्कुलका स्नातक रहेका राजवंशीको यो नै पहिलो फिचर चलचित्र निर्देशन हुनेछ। यस चलचित्रमा ‘परीक्षा लिम्बु, कर्मा, सुनिल थापा, मेनुका प्रधान, साजन थापा मगर, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखिया’ लगायतका कलाकारहरूको अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu