अशोक दर्जीको ‘जिरोदेखि हिरो’सम्मको यात्रा: ‘मन बिनाको धन’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक



काठमाडौं – बाल गायक अशोक दर्जीको जीवनमा आधारित नेपाली चलचित्र ‘मन बिनाको धन’को आधिकारिक ट्रेलर बुधवार काठमाडौंमा एक विशेष कार्यक्रमका बिच सार्वजनिक भएको छ। टङ्क बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो चलचित्र यही कार्तिक २१ गते बाट देशव्यापी प्रदर्शनमा आउँदैछ।

सार्वजनिक ट्रेलरले चलचित्रको मूल कथावस्तु स्पष्ट पारेको छ, जुन वर्तमान समाजमा मन र धन बिचको मनोवैज्ञानिक द्वन्द्व र सडकमा गीत गाएर हिँड्ने एक बालकको प्रेरणादायी जीवन रूपान्तरणमा केन्द्रित छ। ट्रेलरमा अशोक दर्जीको गरिबी, सङ्घर्ष र सङ्गीतकार टङ्क बुढाथोकी सँगको भेटपछि उनको जीवनले लिएको नाटकीय मोडलाई भावनात्मक र मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरिएको छ।

चलचित्रले टङ्क बुढाथोकीको हिट गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत कसरी अशोकको जीवनमा प्रकाश आयो र उनी कसरी ‘जिरो’ बाट ‘हिरो’ को यात्रामा अगाडि बढे भन्ने सामाजिक कथालाई सूक्ष्म रूपमा समेटेको छ। हाल अशोक काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।

टङ्क बुढाथोकीको निर्माण र निर्देशन रहेको यस चलचित्रको कथा पनि उनैले लेखेका हुन्। यसको पटकथा र संवाद शिवम अधिकारी ले तयार पारेका छन्। चलचित्रका निर्माता विष्णुमाया मैनाली, कार्यकारी निर्माता सपना शर्मा, सह-निर्माता: जी.पी. संग्रौला, विवेक नेपाल र विजया पाण्डे रहेका छन्।

चलचित्रमा अशोक दर्जीका साथै कलाकारहरू सरोज खनाल, सन्तोष पन्त, निता ढुङ्गाना, रमा थपलिया, बुद्धि तामाङ, रवीन्द्र झा, भोला सापकोटा लगायत रमेश विश्वकर्मा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी सहित ठुलो कलाकार टोलीको अभिनय रहेको छ।

टङ्क बुढाथोकीको सङ्गीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन रहेको यस चलचित्रका क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी हुन्।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu