
काठमाडौं – वरिष्ठ अभिनेता नीर शाहको मुख्य अभिनय रहेको पारिवारिक भावनात्मक कथानक चलचित्र ‘परान’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। बिहीबार राति राजधानीमा आयोजना गरिएको भव्य प्रिमियर शोमा ‘परान’ले दर्शक र समीक्षकबाट असाधारण प्रशंसा बटुलेको छ। चलचित्र हेरिसकेपछि उपस्थित धेरै दर्शकहरू भावुक बनेका थिए। विशेष गरी, दर्शकहरूले ‘परान’ ले आफ्ना परिवारका सदस्यहरूको बारम्बार सम्झना गराएको भन्दै मन छुने प्रतिक्रिया दिएका थिए। केही दर्शकहरू डाँको छोडेर रोएको देखिन्थ्यो।
नेपाली कला क्षेत्रका हस्ती हरिवंश आचार्यले निर्देशक दीपक आचार्यको डेब्यु चलचित्र ‘परान’ लाई उत्कृष्ट भन्दै तारिफ गरे। उनले चलचित्रले उठाएको विषयवस्तु हरेक गाउँको यथार्थ समस्या भएको बताए। आचार्यले चलचित्र हेर्दा धेरैले यसमा आफ्नो घरको कथा भेट्टाउन सक्ने भन्दै सबैलाई चलचित्र हेर्न आग्रह गरे।

हाल प्रदर्शनरत ‘जेरी अनटप’ का निर्देशक सुयोग गुरुङले ‘परान’ लाई छुटाउनै नहुने चलचित्र को संज्ञा दिए। उनले चलचित्र हेरिरहँदा आँखा नझिम्किएको र कतिखेर आँसु आयो पत्तै नभएको अनुभव सुनाए। अन्य थुप्रै कलाकार तथा सेलिब्रेटीहरूले पनि चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका थिए।
यसका साथै, प्रिमियरमा उपस्थित अधिकांशले चलचित्रका निर्माताहरू शेखर गोल्छा र रञ्जित आचार्यलाई निर्माण यात्राको सुरुवातमै उत्कृष्ट चलचित्र दिएकोमा बधाई र शुभकामना व्यक्त गरेका थिए।

चलचित्र ‘परान’ले जीवनको उत्तरार्धमा पुगेका एक बाबुको मर्मस्पर्शी कथा पस्केको छ। उनी आफ्ना सन्तानको नजिक रहन चाहन्छन्, तर सन्तानका आ-आफ्नै व्यस्तता र प्राथमिकताहरूले गर्दा बाबुको यो सहज चाहना पूरा हुन सक्दैन। सन्तान र बाबुबिचको यही भावनात्मक अन्तर्द्वन्द्वलाई चलचित्रले जीवन्त ढङ्गले चित्रण गरेको छ।
चलचित्रमा नीर शाह का साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, सुव्रतराज आचार्य, यासेली योङहाङ, बबिन राई लगायत कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकार आर्यादीप आचार्य पनि चलचित्रको महत्त्वपूर्ण हिस्सा छन्।

चलचित्रका गीतमा निर्देशक दीपक आचार्यकै शब्द र रिदम कँडेलको सङ्गीत रहेको छ। गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाल ले स्वर दिएका छन्। शिवराम श्रेष्ठ ले छायाङ्कन (डिओपी) गरेका छन् भने मित्र डी. गुरुङले सम्पादन गरेका छन्।





