
काठमाडौं – आगामी मङ्सिर १२ गते बाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हर्ष’को नयाँ प्रचार सामग्रीका रूपमा पारिवारिक पोस्टर सार्वजनिक गरिएको छ। यस पोस्टरमा सिनेमाका मुख्य तीन कलाकारहरू खगेन्द्र लामिछाने, वर्षा राउत र बाल कलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ। तिनै जना खुसी मुद्रामा प्रस्तुत हुनुले चलचित्रले पूर्ण रूपमा पारिवारिक कथावस्तुलाई केन्द्रमा राखेको प्रस्ट सङ्केत गर्दछ।
पोस्टरमा खगेन्द्र र वर्षाले आफ्ना सन्तानप्रति अभिभावकको गहिरो स्नेह र त्यसबाट प्राप्त हुने आनन्दमय क्षणहरूको प्रतिनिधित्व गरेका छन्। यसले सिनेमाको मूल विषयवस्तु सन्तान र अभिभावकबिचको गहिरो भावनात्मक सम्बन्ध र त्यसले जीवनमा ल्याउने ‘हर्ष’ (खुसी) सँग जोडिएको आभास दिलाउँछ।
यो चलचित्र डेब्यु निर्देशक एकता पौडेलले निर्देशन गरेकी हुन्। पौडेलले ‘हर्ष’लाई उत्कृष्ट प्रस्तुतिको रूपमा दर्शकमाझ ल्याउनेमा आफू विश्वस्त रहेको बताउँदै आएकी छन्। यस चलचित्रको कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन्। प्रसन्न पौडेल र विकास पौडेल निर्माता रहेका छन् भने हिक्मत चोखाल कार्यकारी निर्माता हुन्।
‘हर्ष’मा खगेन्द्र लामिछाने, वर्षा राउत र साइमन वादीका साथै वरिष्ठ कलाकारहरू निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेणु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन र सिर्जना नापित लगायतका कलाकारहरूको अभिनय रहेको छ।





