
काठमाडौं – नेपाली चलचित्र उद्योगमा नियमित कथावस्तु र प्रस्तुतिभन्दा भिन्न स्वाद पस्कने तयारी गरिएको वैज्ञानिक कल्पना (साइन्स फिक्सन) विधामा निर्मित चलचित्र ‘एक्लो’को आकर्षक टिजर सार्वजनिक भएको छ। १ मिनेट ५ सेकेन्ड लामो टिजरले यो चलचित्र गजब र विशेष बनेको सङ्केत दिएको छ। फरक कथावस्तु र उच्च प्राविधिक पक्षका कारण ‘एक्लो’ ले दर्शकलाई अद्वितीय मनोरञ्जन प्रदान गर्नेमा निर्माण समूह विश्वस्त देखिएको छ।
यो चलचित्र आगामी अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १७ गते (जनवरी १) मा देशव्यापी प्रदर्शनमा आउँदैछ। ‘एक्लो’ ले यसअघि नै विश्वको प्रतिष्ठित कान्स फिल्म फेस्टिभल मा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति दर्ता गराइसकेको छ। कान्समा सहभागी भएपछि चलचित्रको चर्चा बढेको थियो।
चलचित्रको निर्देशन प्रदीप शाही ले गरेका हुन्, जो लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका छन्। दुई सफल चलचित्र निर्देशन गरिसकेका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको प्रविधि र प्रस्तुतिसहित निर्माण गरिरहेको दाबी गरिएको छ।
चलचित्रमा स्थापितदेखि नयाँ पुस्ताका कलाकारहरूको सशक्त अभिनय रहेको छ। मुख्य भूमिकामा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायत बाल कलाकारहरू जेमिन श्रेष्ठ र स्योन सविक सिंह, तथा बेलायती अभिनेता जेमी बेकन को उपस्थिति रहेको छ।
टिजर:





