
काठमाडौं – नव निर्देशक एकता पौडेलको पहिलो चलचित्र ‘हर्ष’ को ट्रेलर सार्वजनिक भएको छ। पारिवारिक कथावस्तुमा आधारित यस सिनेमाको २ मिनेट ५१ सेकेन्ड लामो ट्रेलर मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो। ट्रेलरले चलचित्रको मुख्य कथावस्तुलाई प्रस्ट्याएको छ, जसमा छोराको विवाहपछि एउटा परिवारमा आउने भावनात्मक र व्यावहारिक उतारचढावहरूलाई केन्द्रमा राखिएको देखिन्छ। लामो समयदेखि नेपाली चलचित्रमा ओझेलमा परेको विशुद्ध पारिवारिक विषयवस्तुलाई ‘हर्ष’ले पुनर्जीवन दिने सङ्केत गरेको छ।
आगामी मङ्सिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको ‘हर्ष’को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक पौडेलले नेपाली सिनेमामा पारिवारिक कथावस्तुको ‘ट्रेन्ड’ घट्दै गएकोले नै आफूले डेब्युका लागि यही विधा रोजेको बताइन्।
चलचित्रमामा अनुभवी र नयाँ पुस्ताका कलाकारहरूको सशक्त उपस्थिति रहेको छ। मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, वर्षा सिवाकोटी र साइमन डिसी सहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर लगायत अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन र सिर्जना नापितको अभिनय देख्न सकिन्छ। यसमा समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको सङ्गीत सुन्न सकिन्छ। लोकेश बज्राचार्यले सम्पादनको जिम्मेवारी सम्हालेका छन् भने सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी समाविष्ट छ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा स्वयम् निर्देशक पौडेलले लेखेकी हुन्। प्रसन्न पौडेल र विकास पौडेल निर्माता रहेको ‘हर्ष’का कार्यकारी निर्माता हिक्मत चोखाल छन्।
ट्रेलर:





