
काठमाडौं – नेपाली चलचित्र ‘रमिताको पिरती’को रिलिज मिति घोषणा गर्दै यसको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। ललितपुरमा बुधवार आयोजित एक विशेष पत्रकार सम्मेलनका बिच फस्टलुक अनावरण गरिएको हो। निर्देशक सुदिप्ता को निर्देशनमा तयार भएको यो चलचित्र आउँदो माघ २३ गते बाट देशभर प्रदर्शनमा आउने पक्का भएको छ।
चलचित्रको कथा महिला केन्द्रित रहेको छ, जसमा अभिनेत्री आना शर्मा केन्द्रीय भूमिकामा छिन्। फस्टलुकमा उनलाई ‘रमी’ नामक पात्रको विभिन्न गेटअपमा देख्न सकिन्छ, जसले फिल्मभित्र उनको कथा र उनको वरिपरिका पात्रहरूको सम्बन्धलाई सङ्केत गर्छ।
आना शर्माका अलावा यस चलचित्रमा अभिनेताहरू धिरज मगर र विनय श्रेष्ठ को पनि अभिनय रहेको छ। विशेष गरी, चर्चित गायक समीर श्रेष्ठ ले यही चलचित्रमार्फत अभिनयमा नायकको रूपमा डेब्यु गरेका छन्।
कार्यक्रममा बोल्दै श्रेष्ठले सुरुमा आफू सङ्गीतकारको रूपमा चलचित्रसँग जोडिएको र पछि कथावस्तु मन परेपछि अभिनय गर्ने निर्णय लिएको बताए। अभिनेत्री आना शर्माले पनि यो कथा चार वर्षअघि नै सुनेको र यसको फरकपन ले गर्दा आफू यसमा जोडिएको बताइन्। उनले दर्शकले ‘रमिताको पिरती’ को कथावस्तुलाई मन पराउनेमा विश्वास व्यक्त गरिन्।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यस चलचित्रका मुख्य निर्माता सागर लम्साल हुन्। आर.पी प्रोडक्सन एसोसियट निर्माताको रूपमा रहेको छ।
यसमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेल को सङ्गीत रहेको छ।






