‘मन बिनाको धन’लाई हलले दिए न्यून शो, निर्देशक टङ्क बुढाथोकी भन्छन् – “म हार्दैछु…”



काठमाडौं – भोली शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मन बिनाको धन’ ले प्रदर्शनको पूर्व सन्ध्यामै गम्भीर चुनौती सामना गर्नुपरेको छ। चलचित्रका निर्देशक तथा सङ्गीतकार टङ्क बुढाथोकीले प्रदर्शक (चलचित्र हल सञ्चालकहरू) ले चलचित्रलाई पर्याप्त शो नदिएको वा कतिपय स्थानमा शो दिनै अस्वीकार गरेको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन्।

बुढाथोकीले आफ्नो व्यक्तिगत र पेसागत निराशा व्यक्त गर्दै लेखेका छन्, “म हार्दैछु, मलाई हराउन धेरै लागे, सधैँ लागे, ठिकै छ। सिनेमाघर सञ्चालकहरूले ‘मन बिनाको धन’लाई नपत्याए पनि, हामीलाई हजुरहरूले पत्याउनु भएको छ। म हार्दैछु, मसँगै अशोक पनि हार्दैछन्।” निर्देशक बुढाथोकीले चलचित्र प्रदर्शनमा नआउँदै प्रदर्शकहरूले यसको व्यापारिक र कलात्मक पक्षको कमजोर आकलन गरेको भन्दै दुखेसो व्यक्त गरेका छन्।

‘मन बिनाको धन’ बाल-गायक अशोक दर्जीको वास्तविक जीवन कथामाथि आधारित चलचित्र हो। सडकमा गीत गाउँदै हिँड्ने अशोकलाई टङ्क बुढाथोकीले पहिचान गरी ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाउन लगाएका थिए। यही गीतले अशोकको जीवनमा कायापलट ल्याएको थियो। हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत अशोक दर्जीले नै चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन्।

‘मन बिनाको धन’ मा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ।

टङ्क बुढाथोकीकै सङ्गीत रहेको चलचित्रमा सौरभ लामाको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डी. गुरुङको सम्पादन छ। चलचित्रको कथा टङ्क बुढाथोकीले तयार पारेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu