
काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को कामकारबाहीलाई प्रभावकारी बनाउन तत्काल ‘सही व्यक्तिलाई सही ठाउँमा’ ल्याउन निर्देशन दिएका छन्। चलचित्रकर्मीहरूले सेन्सर बोर्डको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएपछि मन्त्री खरेलले मन्त्रालयका उच्च अधिकारीहरूलाई यस्तो निर्देशन दिएका हुन्।
मन्त्री खरेलले मन्त्रालयका सचिव राधिका अर्याल र महाशाखा प्रमुखहरूलाई सेन्सर बोर्ड तथा अन्य विकास बोर्डहरूसँग आवश्यक समन्वय गरी योग्य र उपयुक्त व्यक्तिहरूलाई तत्काल जिम्मेवारी दिन निर्देशन दिएका हुन्। उनको यो निर्देशनले सेन्सर बोर्डका वर्तमान पदाधिकारीहरूको हेरफेर हुनसक्ने स्पष्ट सङ्केत गरेको छ।
मन्त्री खरेलले छलफलका क्रममा भने, “सेन्सर बोर्ड र विकास बोर्डहरूसँग समन्वय गरी तत्काल ‘राइट म्यान इन राइट प्लेस’ को व्यवस्था मिलाउनुस्।”
चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले बिहीबार आयोजना गरेको चलचित्रकर्मीसँगको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा थुप्रै चलचित्रकर्मीहरूले सेन्सर बोर्डको काम गर्ने शैली निकै कठोर र कमजोर रहेको भन्दै तीव्र असन्तुष्टि पोखेका थिए।
सोही कार्यक्रममा चलचित्रकर्मीको गुनासोको जवाफ दिने क्रममा मन्त्री खरेलले उपर्युक्त निर्देशन दिएका हुन्। सञ्चार सचिव राधिका अर्यालले पनि सेन्सर बोर्डबारे अत्यधिक समस्या र गुनासा आएको स्वीकार गर्दै यस विषयमा आफूले गम्भीरतापूर्वक बुझेर आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन्।
अभिनेता प्रदीप खड्काले सेन्सरको वर्तमान शैलीप्रति आपत्ति जनाएका थिए भने निर्देशक प्रदीप भट्टराईले सेन्सर बोर्डको कार्यविधि कमजोर रहेको टिप्पणी गरे। भट्टराईले आफ्नो पीडा व्यक्त गर्दै भने, “फिल्म लेख्ने बेलादेखि नै सेन्सर बोर्ड सम्झिएर हाम्रो हात काँप्छ। अब सेन्सरलाई उदार र खुकुलो बनाउनुपर्छ।” अभिनेता जितु नेपालले पनि सेन्सर बोर्डलाई समयसापेक्ष लचिलो बनाउनुपर्ने धारणा राखेका थिए।
चलचित्र क्षेत्रको संवेदनशीलता र गुनासोलाई सम्बोधन गर्दै मन्त्री खरेलले दिएको यो निर्देशनले सेन्सर बोर्डको कार्यशैलीमा सुधार आउने अपेक्षा गरिएको छ।






