
काठमाडौं – यो साता नेपाली चलचित्र बजारमा दुई फरक स्वादका नयाँ चलचित्रहरूले एकसाथ प्रदर्शनमा आएका छन्। बहुप्रतिक्षित ‘जारी’ को दोस्रो शृङ्खला ‘जारी : सङ अफ च्याब्रुङ’ र बाल गायक अशोक दर्जीको जीवनमा आधारित सामाजिक कथा बोकेको चलचित्र ‘मन बिनाको धन’ शुक्रवारदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आएका हुन्।
सुपर हिट चलचित्र ‘जारी’ को सफलतालाई पछ्याउँदै आएको ‘जारी : सङ अफ च्याब्रुङ’ ले प्रदर्शनको पहिलो दिन नेपालमा प्रभावशाली उपस्थिति जनाएको छ। चलचित्रले शुक्रवारका लागि देशभर २५८ शोज प्राप्त गरेको छ, जसले घरेलु बक्स अफिसमा यसको ठुलो मागलाई सङ्केत गर्छ।
यसको अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको सेभेन सिज इन्टरन्यासनलका अनुसार, ‘जारी २’ विश्वभर १९२ लोकेसन मा रिलिज भएको छ। यसले पूर्ववर्ती चलचित्रको तुलनामा लोकेसन र शोजको परिमाणमा निकै ठुलो फड्को मारेको देखिन्छ।
उपेन्द्र सुब्बा निर्देशित र रामबाबु गुरुङ निर्मित यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतका कलाकारको मुख्य अभिनय रहेको छ। बिहीबार साँझ आयोजित प्रिमियर शोहरूबाट चलचित्रले सकारात्मक प्रतिक्रिया बटुलेको छ। अब, ठुलो सङ्ख्यामा प्राप्त शोज र हलमा दर्शकको ओइरो लगाउनका लागि चलचित्रलाई बलियो ‘वर्ड अफ माउथ’ स्थापित गर्नुपर्ने मुख्य चुनौती रहेको छ।
यसै गरी, चर्चामा रहेका बाल गायक अशोक दर्जीको सङ्घर्ष र सफलताको कथामा आधारित ‘मन बिनाको धन’ पनि देशैभरका सिनेमा घरहरूमा रिलिज भएको छ। टङ्क बुढाथोकीको निर्माण र निर्देशन रहेको यो चलचित्रले नेपालभर ७६ शोज पाएको छ।
चलचित्रको कथा स्वयम् टङ्क बुढाथोकीले लेखेका हुन् भने पटकथा र संवादको जिम्मा शिवम अधिकारीले लिएका छन्। यो चलचित्रले टङ्क बुढाथोकीको लोकप्रिय गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत कसरी अशोकको जीवनमा परिवर्तन आयो र कसरी उनले ‘जिरो’ बाट ‘हिरो’ बन्ने यात्रा तय गरे भन्ने सामाजिक विषयवस्तुलाई नजिकबाट केलाएको छ।
विष्णुमाया मैनाली (निर्माता), सपना शर्मा (कार्यकारी निर्माता), जी.पी. सङ्ग्रौला, विवेक नेपाल र विजया पाण्डे (सह-निर्माता) सम्मिलित टोलीले यस चलचित्रलाई पर्दामा ल्याएका हुन्। यसमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, निता ढुङ्गाना, रमा थपलिया, बुद्धि तामाङ, रवीन्द्र झा, भोला सापकोटा लगायत रमेश विश्वकर्मा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी सहित एक विशाल कलाकार टोली को अभिनय रहेको छ।






