‘जारी २’ प्रिमियरमा लिम्बू संस्कृति र माओवादी द्वन्द्वको कथाको प्रशंसा



काठमाडौं – नेपाली चलचित्र बजारमा यस वर्षको सर्वाधिक प्रतीक्षित चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ आजबाट विश्वव्यापी प्रदर्शनमा आएको छ। यसको औपचारिक रिलिजको पूर्व सन्ध्यामा हिजो कमलपोखरीस्थित बिग मूभिजमा एक भव्य प्रिमियर शोको आयोजना गरिएको थियो, जहाँ चलचित्र क्षेत्रका हस्तीहरू र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा बनेको यो चलचित्र हेर्न पुगेका अधिकांश पाहुनाले प्रिमियरपछि यसको खुलेर प्रशंसा गरेका छन्। पाहुनाहरूको साझा प्रतिक्रिया थियो कि लिम्बू संस्कृतिमा आधारित यो चलचित्र उत्कृष्ट बनेको छ। उपस्थित अतिथिहरूले यो चलचित्रले विशेष गरी माओवादी युद्धकालमा आदिवासीहरूको धर्म-संस्कृति कसरी संकटमा परेको थियो भन्ने संवेदनशील विषयलाई अत्यन्तै प्रभावकारी ढङ्गले प्रस्तुत गरेको भन्दै निर्देशक र टिमको कामको उच्च सराहना गरे।

प्रिमियर शोमा निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अर्जुन कुमार, निर्देशक दीपक प्रसाद आचार्य ‘काकु’, अभिनेता आयुष्मान देशराज जोशी, दिव्य देव, विपिन कार्की लगायतका कलाकर्मीको उपस्थिति थियो। ‘जारी २’ टिमबाट निर्देशक उपेन्द्र सुब्बा, निर्माता रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर र ऋचा शर्मा सहितको टोली उपस्थित थियो।

विशेष गरी, अभिनेत्री मिरुना मगर ले लिम्बू संस्कृति झल्किने पहिरनमा सजिएर आएकी थिइन्, जसले गर्दा उनले सबैको ध्यान खिच्न सफल भइन्। चलचित्र हेर्नका लागि पूर्व उपसभामुख इन्दिरा राना मगर समेत पुगेकी थिइन्। उनले मिडियालाई प्रतिक्रिया दिँदै भनिन्, ‘मैले ‘जारी’ को पहिलो भाग पनि हेरेकी थिएँ, दोस्रो हेर्न पाउँदा निकै खुसी छु। यसले राम्रो सामाजिक सन्देश दिएको छ। पहिलो भागको तुलनामा यसलाई फरक कालखण्डको कथामा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। यो सिनेमा दर्शकहरूलाई मन पर्नेमा म विश्वस्त छु।’

यो चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ ले निर्माण गरेका हुन्। चलचित्रमा दयाहाङ राई, मिरुना मगर तथा विजय बराल को मुख्य भूमिका रहेको छ। साथै, चलचित्रमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu