
काठमाडौं – संविधान दिवस २०८२ को अवसर पारेर चलचित्र विकास बोर्डले नेपाली सिनेमा क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा अतुलनीय योगदान पुर्याउने १५ जना कलाकार, निर्माता, प्राविधिक र क्षेत्रका हस्तीहरूलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ। चाबहिलस्थित बोर्डको परिसरमा एक विशेष समारोह आयोजना गरी उनीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाली चलचित्रलाई देशको बलियो सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय पहिचानको सशक्त माध्यम का रूपमा चित्रण गरे। उनले बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्व क्षमतामाथि पूर्ण विश्वास व्यक्त गर्दै भने, “सरकार अध्यक्ष डिसीबाट उत्कृष्ट कार्य मार्फत चलचित्र क्षेत्रको इतिहास रच्ने अपेक्षा गर्दछ। उहाँको कुशल नेतृत्वमा यो क्षेत्रले नयाँ मोड लिनेछ भन्नेमा म निश्चिन्त छु।”
त्यसै गरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र क्षेत्रलाई सुदृढ बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन्। उनले सुधार, सबलीकरण, र अन्तर्राष्ट्रियकरणका बृहत् योजनाहरूमा मन्त्रालयको सदैव साथ र सहयोग रहने प्रतिबद्धता जनाइन्।
समारोहमा सम्मानित १५ जना व्यक्तित्वहरूलाई सचिव अर्यालद्वारा खादा ओढाइएको थियो भने मन्त्री खरेलले जनही रु. २०,०००/- (बीस हजार रुपैयाँ) नगद पुरस्कार र सम्मान पत्र प्रदान गरे। पुरस्कृत हुनेहरूमा अभिनय, निर्देशन, सङ्गीत र प्राविधिक पक्षका योगदानकर्ताहरू समेटिएका छन्।
सम्मानित व्यक्तित्वहरूको सूची:
– शिव श्रेष्ठ (कलाकार)
– सबिता गुरुङ (कलाकार)
– तीर्थ थापा (निर्देशक)
– यस कुमार (सङ्गीतकार/गायक/निर्देशक)
– ध्रुव लम्साल (चलचित्र पत्रकार)
– रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक)
– सम्झना रौनियार (निर्देशक)
– युवराज लामा (निर्माता/निर्देशक)
– हेमन्त बुढाथोकी (कलाकार)
– किशन पोखरेल (निर्माता)
– स्व. केशव भट्टराई (कलाकार – मरणोपरान्त)
– नाजिर हुसेन (कलाकार)
– रिमेश अधिकारी (निर्देशक)
– रेनीश फागो (रङ्ग संयोजक/प्राविधिक)
– अन्जु पन्त (गायिका)
कार्यक्रममा कलाकार सङ्घ, निर्माता सङ्घ, प्राविधिक सङ्घ, पत्रकार सङ्घ, तालीम तथा केन्द्रीय छनौट समिति लगायत चलचित्र क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साङ्गीतिक प्रस्तुति, राष्ट्रिय गान, मौन धारण र अन्य सांस्कृतिक झाँकी सहित सो समारोहलाई औपचारिक एवं सफल रूपमा सम्पन्न गरियो।
कार्यक्रमको समापन गर्दै बोर्ड अध्यक्ष दिनेश डिसीले सबै सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गरे। उनले चलचित्र क्षेत्रमा देखिएको सकारात्मक ऊर्जा र सरकारी निकायको बलियो सहयोग ले आगामी वर्षहरूमा अझ महत्त्वपूर्ण उपलब्धिहरू हासिल हुनेमा दृढ विश्वास व्यक्त गरे।






