‘सुम्निमा’ मार्फत लन्डनकी सोलको नेपाली रजतपटमा पदार्पण



काठमाडौं – ‘अञ्जिला’ निर्देशक मिलन चाम्सको आगामी प्रेम कथानक ‘सुम्निमा’मार्फत नेपाली चलचित्र क्षेत्रले एक नयाँ अभिनेत्री पाएको छ। लामो समयदेखि बेलायतको राजधानी लन्डनमा बस्दै आएकी सोल गुरुङले यस चलचित्रमार्फत आफ्नो अभिनय यात्रा प्रारम्भ गर्दैछिन्।

हालै लन्डनमा पहिलो चरणको महत्त्वपूर्ण छायाङ्कन सफलतापूर्वक सम्पन्न गरेर नेपाल फर्किएको निर्माण टिमले ‘सुम्निमा’ को मुख्य नायिकाको रूपमा सोल गुरुङलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो। यसअघि केही म्युजिक भिडियोमा मोडलिङको अनुभव बटुलिसकेकी सोलले यो बिग बजेट प्रोजेक्टबाट डेब्यु गर्ने भएकी हुन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको शीर्षक ‘सुम्निमा’ सुन्दा धेरैलाई यो नारी प्रधान कथावस्तुमा आधारित हुने अनुमान लागेको थियो। तर, निर्देशक चाम्सले यसको खण्डन गर्दै यो चलचित्र एक शुद्ध प्रेमकथा (लभ स्टोरी) मा आधारित रहने प्रष्ट पारेका छन्।

निर्देशक चाम्सका अनुसार, ‘सुम्निमा’ एक युनिभर्सल कथामा आधारित रहनेछ र यसलाई विशेष गरी अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर निर्माण गरिनेछ। राजीव थापाले लेखनको जिम्मेवारी सम्हालेका छन्।

चलचित्रमा नव-अभिनेत्री सोल गुरुङसँगै कुन्साङ बमजन, अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा, सुस्मा सुब्बा लगायतका कलाकारहरूको प्रमुख अभिनय रहनेछ।

पहिलो चरणको छायाङ्कन लन्डनमा सम्पन्न भएपछि अब ‘सुम्निमा’ को दोस्रो तथा निर्णायक चरणको छायाङ्कन नेपालमा गरिने निर्माण पक्षले जनाएको छ।

‘अञ्जिला’,‘वीर विक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’ जस्ता विविध शैलीका सफल चलचित्रहरू निर्देशन गरेर मिलन चाम्सले आफूलाई नेपाली चलचित्र उद्योगको एक सशक्त र व्यावसायिक फिल्ममेकरको रूपमा स्थापित गरिसकेका छन्।

उनको पछिल्लो चलचित्र ‘अञ्जिला’ ले बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्दै नेपाली चलचित्र इतिहासमा सर्वाधिक व्यापार गर्ने बायोपिक चलचित्रको कीर्तिमान समेत कायम गर्न सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu