चलचित्र ‘पीआर’ को जापान प्रदर्शन अधिकार बिक्री



काठमाडौं – आगामी मङ्सिर २६ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘पीआर’को जापानका लागि प्रदर्शन अधिकार बिक्री भएको छ। जापानमा नेपाली चलचित्र वितरण गर्दै आएको युना डिजिटल नामक संस्थाले ‘पीआर’ को सम्पूर्ण प्रदर्शन अधिकार खरिद गरेको हो।

चलचित्रका निर्देशक शोभित बस्नेत ले यसको पुष्टि गर्दै जापानका लागि राम्रो रकममा फिल्म ‘सोल्ड आउट’ भएको जानकारी दिए। निर्देशक बस्नेतले चलचित्र ‘पीआर’ प्रेम, सङ्घर्ष र आप्रवासन को भावनात्मक धरातलमा आधारित भएकाले विशेष गरी विदेशमा रहेका नेपाली दर्शकहरूमाझ यसको चासो उच्च देखिएको बताए।

यसअघि अस्ट्रेलियाका विभिन्न सहरहरूमा यसको विशेष शो सफलतापूर्वक सम्पन्न भएको थियो, जहाँ दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। चलचित्रको हालै सार्वजनिक भएको ‘टाटा बाइ बाइ’ बोलको गीतले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। युट्युबमा रिलिज भएको केही दिनमै यो गीत ट्रेन्डिङको सूचीमा पर्न सफल भएको थियो। साथै, टिकटक लगायतका माध्यममा पनि यसको शब्द र धुन प्रयोग गरी बनाइएका छोटा भिडिओहरू निकै लोकप्रिय भएका छन्।

‘पीआर’ मा नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकारहरू नीर शाह, गौरी मल्ल सँगै आर.ए. सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु , कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा रवीन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्कीले विशेष भूमिका निर्वाह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu