
इटहरी – गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । विशेष गरी पूर्वी नेपालका सिनेमा हलहरूमा यस चलचित्रको व्यापार अत्यन्तै आक्रामक देखिएको वितरकहरूले बताएका छन् ।
पूर्वी नेपालको लिम्बू समुदायको कथा र संस्कृतिलाई पर्दामा उतारेको यस चलचित्रले दर्शकबाट पाएको अपार मायापछि निर्देशक उपेन्द्र सुब्बा र प्रमुख अभिनेत्री मिरुना मगर दर्शक साक्षात्कारका लागि पूर्वी नेपाल पुगेका छन् । चलचित्र टोलीले सोमबार झापाको दमक र बिर्तामोडका दर्शकहरूसँग भेटघाट गरेको थियो । यस्तै, आज (मङ्गलवार) उनीहरू सुनसरीको धरान र इटहरीका विभिन्न सिनेमा हलहरूमा पुगेर दर्शकहरूसँग साक्षात्कार गरे।
पूर्वी नेपालमा दर्शकले दिएको न्यानो स्वागत र मायाले आफूलाई अत्यन्तै उत्साहित बनाएको निर्देशक सुब्बाले बताए । उनले भने, “दर्शकहरूको यो मायाले आगामी दिनमा अझै परिपक्व र राम्रो सिनेमा पस्किनु पर्ने चुनौती महसुस भएको छ।”
चलचित्रकी मुख्य अभिनेत्री मिरुना मगरले दर्शकहरूमा आजबाट प्रदर्शनमा आएको नयाँ भर्सनले थप उत्साह पैदा गरेको बताइन् । “हामीले हिजो दमक र बिर्तामोडमा दर्शकसँग साक्षात्कार गर्यौँ । आज मेरो ‘होम टाउन’ धरान र इटहरीमा दर्शकहरूलाई भेट्दै छौँ । धरानमा दर्शकसँग साक्षात्कार गर्न पाउँदा म अझै उत्साहित छु,” उनले भनिन् ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यस चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई र मिरुना मगरका साथमा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
यसै क्रममा, ‘जारी २’ को प्रदर्शनमा आज मङ्गलवारबाट एउटा महत्त्वपूर्ण परिवर्तन गरिएको छ । चलचित्रमा थप १४ मिनेट लामो दृश्यसहितको ‘डिरेक्टर्स कट’ भर्सन प्रदर्शनमा ल्याइएको हो ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मले यस वर्षको सफल व्यावसायिक चलचित्रहरूको सूचीमा आफूलाई उभ्याएको छ । चलचित्रमा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखु लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।






