प्रदर्शनरत ‘मन बिनको धन’को ‘बा आमा’ गीत सार्वजनिक



काठमाडौं – गत शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’को ‘बा आमा’ बोलको एक मार्मिक गीत सार्वजनिक भएको छ। चलचित्र रिलिज भएको केही दिनपछि सार्वजनिक गरिएको यो गीतले चलचित्रको भावनात्मक पक्षलाई थप उजागर गरेको छ।

गायक अशोक दर्जी र एआर बुढाथोकीको सुमधुर स्वरमा सजिएको यस गीतमा टङ्क बुढाथोकीको सङ्गीत र एरेन्जमेन्ट रहेको छ भने गीतको शब्द शङ्कर आचार्यले कोरेका हुन्।

नेपालभरिका सिनेमा हलहरूमा प्रदर्शन भइरहेको ‘मन बिनको धन’ले दर्शकहरूको माया र प्रशंसा बटुलिरहेको छ। प्रदर्शनको पहिलो दिनदेखि नै युवा पुस्ता (जेन-जी) देखि लिएर ज्येष्ठ नागरिकसम्मका दर्शकहरूले हलमा उत्साहजनक उपस्थिति जनाएका छन्।

विशेष गरी, बाल गायकबाट चम्किएका कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित यस चलचित्रले दर्शकहरूको मन गहिरोसँग छोएको छ। हल भिजिटमा पुगेका दर्जीलाई अँगालो हालेर रोएका दर्शकहरूको भिडियोहरू सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन्, जसले फिल्मको भावनात्मक प्रभावलाई पुष्टि गर्छ। स्कुले विद्यार्थी र उनीहरूका अभिभावकहरू समेत चलचित्र हेरेपछि रुँदै हलबाट निस्किएको दृश्यले फिल्मको कथावस्तु कति मर्मस्पर्शी छ भन्ने देखाउँछ।

फिल्मले प्रदर्शनको पहिलो दिन जम्मा ९५ शो पाएकोमा अहिले दर्शकको मागका कारण शो सङ्ख्या बढेर सवा सयको हाराहारीमा पुगेको छ। हरेक शोमा दर्शकको हाउसफुल उपस्थिति रहेको वितरकहरूले जनाएका छन्। दर्शकको प्रतिक्रिया बुझ्नका लागि चलचित्रका कलाकारहरू राजधानी तथा राजधानी बाहिरका हलहरूमा दैनिक जसो पुगिरहेका छन्।

टङ्क बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको यस चलचित्रको कथा टङ्क बुढाथोकीले आफैँले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन्।

चलचित्रमा अशोक दर्जी सँगै अनुभवी तथा स्थापित कलाकारहरूको बाक्लो उपस्थिति रहेको छ। जसमा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुङ्गाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली लगायतका कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ।

टङ्क बुढाथोकी प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्मलाई विष्णुमाया मैनालीले निर्माण गरेकी हुन्। मिनु शर्मा (सपना) कार्यकारी निर्मातामा रहँदा जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह निर्माताको भूमिकामा छन्। टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन्।

प्राविधिक टोलीमा टङ्क बुढाथोकीको सङ्गीत, सौरभ लामाको उत्कृष्ट छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu