
काठमाडौं – पारिवारिक भावनात्मक कथावस्तुमा निर्माण भएको चलचित्र ‘आ बाट आमा’ ले प्रदर्शनको मिति नजिकिँदै गर्दा दर्शकमाझ आफ्नो उपस्थितिको गहिरो छाप छोड्ने गरी दुई भिन्न तर सशक्त पोस्टरहरू सार्वजनिक गरेको छ। आगामी माघ १६ गते लाई प्रदर्शन मिति तोकेको निर्माण टिमले बुधवार चलचित्रको कथावस्तुको मार्मिक पाटो झल्काउने यी पोस्टरहरू सार्वजनिक गरेको हो।
चलचित्रको मूल भावनालाई प्रस्तुत गर्ने एउटा स्लोगनले नै आम नेपाली परिवारको कथा बोल्छ – “बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु पर्यो।” यो वाक्यांशले सन्तान र आमाबुबाबिचको सम्बन्ध, त्याग, सपना र बाध्यताको कथालाई स्पष्ट सङ्केत गर्दछ।
सार्वजनिक गरिएका दुई पोस्टरहरूले चलचित्रमा समावेश खुसी र पीडाका दुई फरक आयामलाई प्रस्तुत गर्दछन्। ग्रामीण परिवेशमा आधारित यो चलचित्रले विशेष गरी आमाबुबा र सन्तानबिचको गहिरो भावनात्मक सम्बन्धलाई मुख्य केन्द्रमा राखेको छ। चलचित्रलाई चन्द्र पन्त ले निर्देशन गरेका हुन्, जसले यसको लेखन तथा पटकथाको जिम्मेवारी पनि सम्हालेका छन्।
चलचित्रमा मुख्य कलाकार बिपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त लगायत उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित विष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलीप उखेडा, रचना गौतम आदिको अभिनय रहेको छ। आर्या इन्टरटेन्मेन्ट को ब्यानरमा बनेको यस चलचित्रको प्रस्तुति आर्या पन्त को रहेको छ। ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माताका रूपमा छन् भने करण सिंह रसाली कार्यकारी निर्माता हुन्।






