‘ऊनको स्वीटर’को भारत रिलिज: सिक्किम, दार्जिलिङ देखि दिल्लीसम्म प्रदर्शनमा आउने



काठमाडौं – नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै उल्लेखनीय सफलता बनाएको चलचित्र ‘ऊनको स्वीटर’ अब भारतमा रिलिज हुने भएको छ। आर्टमान्डूले निर्माण गरेको यस चलचित्रलाई भारतमा एसली प्रोडक्सनले वितरण गर्ने निर्णय गर्दै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छ। यस अनुसार नोभेम्बर २१ देखि चलचित्र दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानहरूका सिनेमा हलहरूमा पहिलो चरणमा प्रदर्शन गरिने निर्देशक नवीन चौहानले बताए।

हालै मात्र भारतको चलचित्र प्रमाणीकरण बोर्डबाट सेन्सर पास भएको ‘ऊनको स्वीटर’ भारत रिलिजका लागि दार्जिलिङस्थित एसभिएफ सिनेमा, कर्स्याङको कर्स्याङ फन्टाजी सिनेमा, नाम्चीको नाम्ची इम्पेरियल सिनेमा, सिक्किममा गान्तोकस्थित डेन्जोङ सिनेमा र वज्र सिनेमा, साथै गान्तोककै आईएनओएक्स गान्तोक सिनेमा, वेस्ट बंगालको लागि सिलिगुडीको आईएनओएक्स सिनेमा सिटी सेन्टर, आईएनओएक्स वेगा सर्कल, आईएनओएक्स एग्रोपोलिस सिलिगुडी र साउथ सिटी सिलिगुडी लगायतका प्रतिष्ठित हलहरूले प्रदर्शनका लागि आफ्नो स्क्रिन प्रदान गरिसकेका छन्। हिमाली क्षेत्रका नेपाली भाषी तथा नेपाली समुदाय नजिक रहेका भारतीय दर्शकलाई लक्षित गर्दै यी स्थानहरूलाई प्राथमिकता दिइएको बताइएको छ।

साथै, चलचित्रको भारत प्रिमियर रिलिजको १ दिन अघि नोभेम्बर २० मा सिक्किममा हुने भएको छ। प्रिमियरमा नेपालबाट अभिनेताहरू विपिन कार्की र एलेक्स पारससहित कलाकारहरू, गायक सुजन चापागाईँ र निर्देशक नवीन चौहान लगायत सहभागि रहने जनाइएको छ। यस्तै, त्यस क्षेत्रका नेपाली कलाकर्मीहरु तथा सिक्किमका राज्य तहका व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ।

गत वैशाख २६ गते नेपालमा सार्वजनिक भएको ‘ऊनको स्वीटर’ देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई वर्षकै चर्चित मध्ये एक बनेको थियो। नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको चलचित्रले नेपाली समाजका वास्तविक भाव र बुझाइलाई स्पर्श गर्ने कथा वाचन, सशक्त अभिनय तथा मन छुने सङ्गीतका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको छ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेललगायत कलाकारहरूको प्रभावकारी अभिनय रहेको छ। गीत सुजन चापागाईँले र सङ्गीत कोविद बज्रले निर्देशन गरेका छन्।

भारत रिलिजबारे एसली प्रोडक्सनले जारी गरेको वक्तव्यमा ‘ऊनको स्वीटर’ले नेपालमा जस्तै भारतका दर्शकमा पनि गहिरो प्रभाव पार्ने अपेक्षा राखिएको उल्लेख छ। नेपाली कथा वाचन र सांस्कृतिक भावनाले भरिएको यस चलचित्रले भारतका नेपाली भाषी क्षेत्रका दर्शक मात्र होइन, मौलिक कथा खोज्ने व्यापक भारतीय दर्शक समुदायलाई पनि आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu