
काठमाडौं – आगामी माघ १ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मिरमिरे’का दुई पोस्टर सार्वजनिक भएका छन्। यम शेर्पाको निर्देशनमा बनिरहेको यस चलचित्रका पोस्टरमा मुख्य पात्रहरूलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ।
पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र बाल कलाकार शाइसा गौचन फिचर्ड छन्। पहाडी पृष्ठभूमिको मधुरो प्रकाशमा उनीहरूको उपस्थिति निकै भावुक देखिन्छ। दोस्रो पोस्टरमा भने कलाकार प्रकाश सपूत र अभिनेत्री सिर्जना निङ्लेखु लाई देखाइएको छ। यस पोस्टरमा प्रकाश विद्यार्थीको रूपमा छन् भने सिर्जना शिक्षिकाको भेषमा छिन्।
‘मिरमिरे’ मार्फत अभिनेता दयाहाङ राई र गायक/कलाकार प्रकाश सपूतले पहिलो पटक पर्दामा सहकार्य गर्दैछन्। निर्देशक यम शेर्पाले भने यसअघि आफ्नो पहिलो निर्देशन ‘कार्साङ’मा पनि दयाहाङसँग सहकार्य गरेका थिए।
चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, र सिर्जना निङ्लेखुसँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ। बाल कलाकारहरूमा शाइसा गौचनका अतिरिक्त दिविशा पन्त, चिराग श्रेष्ठ, र नमनराज गजुरेल छन्।
यार्सा फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रको कथावस्तु निर्देशक यम शेर्पा स्वयंले लेखेका हुन्। यसमा आलोक शुक्लाको छायाङ्कन रहेको छ।






