
दोहा – बाल गायक अशोक दर्जीको वास्तविक जीवनमा आधारित चलचित्र ‘मन बिनाको धन’ यति बेला आन्तरिक तथा बाह्य बक्स अफिसमा दमदार प्रदर्शन गरिरहेको छ। नेपालका सिनेमा घरहरूमा दोस्रो हप्तामा प्रवेश गरेको यस फिल्मले पहिलो हप्तामै १ करोड ६७ लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्दै व्यावसायिक सफलता हासिल गरेको छ।
नेपालमा उत्साहजनक व्यापार गरिरहेको ‘मन बिनाको धन’ले बिहीबारबाट कतार, संयुक्त अरब इमिरेट्स (युएई) र बहराइनमा समेत प्रदर्शन सुरु गरेको छ। विशेष गरी, कतारमा फिल्मले ऐतिहासिक सफलता दर्ता गरेको छ। वितरकहरूका अनुसार, कतारमा बिहीबार र शुक्रवार प्रदर्शन भएका दुवै सो ‘हाउसफुल’ भएका छन्। कतारमा प्रदर्शनको पहिलो दुई सो नै हाउसफुल हुने ‘मन बिनाको धन’ पहिलो नेपाली चलचित्र बनेको वितरकहरूले दाबी गरेका छन्।
हरि मोक्तान, कृष्ण भट्टराई र साथीभाइ इन्टरटेन्मेन्टले कतार, युएई र बहराइनमा फिल्म वितरणको जिम्मा लिएका छन्। उनीहरूले युएई र बहराइनमा पनि फिल्मले दर्शकको राम्रो साथ पाएको र व्यापार सन्तोषजनक रहेको जनाएका छन्।
नेपालमा दर्शकको मन जित्न सफल यस चलचित्रले खाडी मुलुकमा पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। वितरण समूहले चलचित्र छिट्टै साउदी अरब र दक्षिण कोरियासहितका अन्य मुलुकहरूमा पनि प्रदर्शनमा ल्याउने तयारी गरिरहेको छ।
टङ्क बुढाथोकीको निर्माण तथा निर्देशन रहेको यो फिल्ममा अशोक दर्जीसँगै वरिष्ठ कलाकारहरू सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ। टङ्क बुढाथोकीले नै कथा लेखेका यस चलचित्रको पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका हुन्। टङ्क बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मलाई विष्णुमाया मैनालीले निर्माण गरेकी हुन् भने मिनु शर्मा (सपना) कार्यकारी निर्माता रहेकी छिन्।






