‘एक्लो-१’को टिजर प्रतिक्रियाः सीमित स्रोतमै उच्चस्तरीय निर्माणको प्रशंसा



काठमाडौं – वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो–१’ को टिजरले युट्युबमा उत्साहजनक चर्चा र प्रतिक्रियाहरू बटुलेको छ। ओएसआर डिजिटलको च्यानलमार्फत सार्वजनिक भएको टिजरले १२ लाख भ्युज पार गरेको छ भने कमेन्ट सेक्सन दर्शकहरूको प्रशंसा, उत्साह र अपेक्षाले भरिएको देखिन्छ।

टिजर सार्वजनिक भएको केही दिनमै भारतीय र नेपाली दुवै दर्शकबाट उत्कृष्ट प्रतिक्रिया आएको छ। एक भारतीय दर्शकले लेखेका छन्, “यो चलचित्रपछि नेपाली फिल्म उद्योग बदलिन्छ जस्तो लाग्छ। भिएफएक्स, कास्टिङ, लोकेसन र भगवान् शिवको मन्त्रको प्रयोग अद्भुत छ।”

त्यस्तै, एक नेपाली दर्शकको प्रतिक्रिया छ, “नेपाली चलचित्र क्षेत्रले नयाँ स्वाद चाख्दै छ, सबैका लागि मिठो होस्।” टिजरले दिएको प्रभावका कारण धेरैले फिल्मप्रतिको प्रतीक्षा झनै बढेको उल्लेख गर्दै अर्को दर्शकले लेखेका छन्, “टिजर बब्बाल छ, फिल्म अझै बब्बाल हुनुपर्‍यो। सफलताको शुभकामना!”

सीमित स्रोतमा पनि उत्कृष्ट काम गरेको भन्दै दर्शकहरूले निर्माण टोलीको हौसलासमेत बढाएका छन्, “केही नयाँ प्रयास हुँदैछ, उच्च स्तरको चलचित्र बनेको छ, प्रशंसा गर्नुपर्छ।”

यी प्रतिनिधिमूलक प्रतिक्रियाहरूले नेपाली वैज्ञानिक कल्पनामा आधारित सिनेमाले दर्शकमाझ कति ठुलो उत्सुकता जगाइरहेको छ भन्ने देखाउँछ।

१ मिनेट ५ सेकेन्डको टिजरले नेपालमा कम प्रयोग हुँदै आएको साइन्स-फिक्सन विधा लाई शक्तिशाली ढङ्गले प्रस्तुत गरेको छ। टिजरमा देखिएको भिएफएक्स, लोकेसन, साउन्ड डिजाइन र कथावस्तुको सङ्केत ले दर्शकलाई नयाँ अनुभूति दिएको छ।

चलचित्रका निर्देशक प्रदीप शाहीले चलचित्रलाई हलिउड स्तरको प्रविधि र कथन शैलीसहित निर्माण गरिएको बताउँदै आएका छन्। बेलायतमा बस्दै आएका शाहीले यसअघिका दुई सफल फिल्म पछि ‘एक्लो-१’ लाई आफ्नो सबैभन्दा ठुलो प्रोजेक्ट बताएका छन्।

चलचित्रले यसअघि नै कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत अन्तर्राष्ट्रिय उपस्थिति जनाइसकेको छ। कान्समा सहभागी भएपछि चलचित्रले अन्तर्राष्ट्रिय स्तरमै चासो पाएको निर्माण पक्षको दाबी छ। ‘एक्लो-१’ आगामी पुस १७ (जनवरी १) मा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर देशव्यापी प्रदर्शनमा आउँदैछ।

यस चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ। बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह, साथै बेलायती अभिनेता जेमी बेकन को उपस्थितिले चलचित्रलाई अन्तर्राष्ट्रिय स्पर्श दिएको छ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu