
चितवन – मङ्सिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हर्ष’ को निर्माण पक्ष प्रचारप्रसारका लागि यति बेला चितवनमा सक्रिय छ। यो चलचित्रकी निर्देशक एकता पौडेलको गृह जिल्ला समेत भएकाले चितवनलाई लक्षित गरी स्कुल, कलेज र मेला महोत्सवसम्म पुगेर व्यापक प्रचार अभियान चलाइएको छ।
चितवनमा आयोजित प्रचार अभियानमा निर्देशक एकता पौडेल, प्रमुख कलाकारहरू वर्षा राउत, सन्तोष पन्त, बाल कलाकार साइमन वादी र कोरियोग्राफर सुनिल क्षेत्री लगायतको उपस्थिति छ।
सो अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डेब्यु निर्देशक एकता पौडेल ले चितवनकी चेली भएकाले आफ्नो पहिलो चलचित्र ‘हर्ष’ ले यहाँका दर्शकहरूको विशेष माया र साथ पाउनेमा आफू विश्वस्त रहेको बताइन्। “मैले निकै धेरै मिहिनेत र लगनशीलताका साथ यो चलचित्र निर्माण गरेकी छु। सबैबाट साथ र सहयोगको अपेक्षा राखेकी छु,” उनले भनिन्।
चलचित्रकी प्रमुख अभिनेत्री वर्षा राउत ले ‘हर्ष’ एक पूर्णतः पारिवारिक कथावस्तु मा आधारित रहेकाले सम्पूर्ण दर्शकहरूले मन पराउने विश्वास व्यक्त गरिन्।
वरिष्ठ कलाकार सन्तोष पन्त ले एक महिला निर्देशकले मेहनत गरेर सुन्दर चलचित्र बनाएको भन्दै सबै दर्शकलाई हलसम्म पुगेर ‘हर्ष’ लाई साथ दिन आग्रह गरे। कोरियोग्राफर सुनिल क्षेत्री ले चलचित्र अत्यन्तै राम्रो बनेको र आज चितवनको महोत्सवमा विशेष प्रस्तुति लिएर आएको जानकारी दिए।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। प्रसन्न पौडेल र विकास पौडेल निर्माता रहेको ‘हर्ष’ का कार्यकारी निर्माता हिक्मत चोखाल हुन्।
चलचित्रमा वर्षा राउत र खगेन्द्र लामिछानेसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बाल कलाकार साइमन वादीको सशक्त अभिनय रहेको छ।






