‘मुगलान’को पहिलो गीत ‘पिन्टु पियारी’ सार्वजनिक



काठमाडौं – आगामी पुष १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मुगलान’को पहिलो गीत ‘पिन्टु पियारी’ सार्वजनिक भएको छ। सोमबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच यस लोकलयमा आधारित गीतलाई दर्शकमाझ ल्याइएको हो।

प्रेम भाव झल्काउने यस गीतमा गायक हरि गिरी (विमर्शी) र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ। गीतमा शब्द तथा सङ्गीत पनि गायक गिरी स्वयंको रहेको छ।

सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार प्रभात पाल र डेब्यु अभिनेत्री स्मारिका ढकालको आकर्षक नृत्य प्रस्तुत गरिएको छ। देवेन्द्र कुँवरको कोरियोग्राफी रहेको भिडियोमा यो जोडीले एक-अर्काप्रतिको गहिरो प्रेमलाई नाचमार्फत व्यक्त गरेका छन्। गीतमा प्रभातले स्मारिकालाई आफ्नो मनमा ‘शासन चलाएर बस्न’ आग्रह गर्दा स्मारिकाले पनि सँगै हाँस्ने-रुने वाचासहित आफ्नो माया दर्साएकी छन्।

आशिष ढकालको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्ममा प्रभात पाल र टिकटकरबाट अभिनेत्रीको यात्रा सुरु गरेकी स्मारिका ढकालका साथै श्री शिवांशी, दिनेश डिसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन (ख.ब.पु.), राजु राज सोनी, रश्मि भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।

गोमन सिंहद्वारा निर्मित यस फिल्ममा रिता चौधरी सह-निर्माताको रूपमा संलग्न छन्। अजय रेग्मीको डीओपी, तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन, रिदम कँडेलको ब्याकग्राउन्ड म्युजिक तथा किरण भुसालको सङ्गीत संयोजन रहेको छ।

‘मुगलान’ले मुख्य रूपमा त्रिकोणात्मक प्रेमकथा, गरिबी र परदेशमा नेपालीहरूले भोग्नुपर्ने पीडालाई आफ्नो कथावस्तु बनाएको निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu