नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा उदय सुब्बा विजयी, महासचिवमा खगेन्द्र लामिछाने



काठमाडौं – नेपाली चलचित्र निर्माताहरूको साझा संस्था नेपाल चलचित्र निर्माता सङ्घले नयाँ नेतृत्व चयन गरेको छ। सोमबार काठमाडौंमा सम्पन्न सङ्घको निर्वाचन साधारण सभाबाट निर्माता उदय सुब्बा अध्यक्ष पदमा निर्वाचित भएका छन्।

सुब्बाले आफ्ना निकटतम प्रतिस्पर्धी सुनिलकुमार थापालाई २७ मतान्तरले पराजित गर्दै सङ्घको कमान्ड सम्हालेका हुन्। निर्वाचनमा कुल २८० मत खसेकोमा सुब्बाले १५३ मत प्राप्त गरे भने थापाले १२६ मत ल्याए।

महासचिवमा लामिछानेको जित, अन्य पदाधिकारी निर्विरोध

सङ्घको महासचिव पदमा पनि कडा प्रतिस्पर्धा देखिएको थियो। लोकप्रिय कलाकार तथा सफल चलचित्र ‘पशुपति प्रसाद’का निर्माता खगेन्द्र लामिछाने महासचिव पदमा विजयी भएका छन्। उनले प्रतिस्पर्धी किरण नेपाललाई २७ मतकै अन्तरले पछि पार्दै १५२ मत हासिल गरे, जबकि किरण नेपालले १२५ मत पाए।

यसै गरी, सङ्घको सचिव पदमा युवराज गिरी निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिस्पर्धी किसान पोखरेलको ११२ मतको तुलनामा १५९ मत प्राप्त गरे।

सङ्घको उपाध्यक्ष पदमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन्। कोषाध्यक्ष पदमा भने रामप्रसाद रिजाल निर्विरोध चयन भएका छन्।

सङ्घको नौ सदस्यीय सदस्य पदका लागि सात जनाको मात्रै उम्मेदवारी परेकोले उनीहरू सर्वसम्मत निर्वाचित भएका छन्। सर्वसम्मत निर्वाचित हुने सदस्यहरूमा चुम्बनजंग शाही, टङ्कबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu