
काठमाडौं – अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माता रहेको प्रतीक्षित चलचित्र ‘द ब्लु लाइट’ को प्रदर्शन मिति करिब एक महिनाले पछि सरेको छ। यसअघि मङ्सिर १२ गते रिलिज हुने घोषणा गरिएको यो फिल्म अब आउँदो पुस १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ।
निर्माण पक्षले सोमबार एक नयाँ पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रदर्शन मिति हेरफेर भएको जानकारी दिएको हो। यो मितिमा यसअघि नै अर्को चलचित्र ‘मुगलान’ पनि प्रदर्शन हुने घोषणा भइसकेकाले बक्स अफिसमा दुई फिल्मबिच टक्कर हुने निश्चित भएको छ।
नयाँ मितिसहित सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य कलाकारहरू महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशीलाई स्थान दिइएको छ। उनीहरूको हाउभाउमा तनाव, नैराश्यता र बदलाको गम्भीर भाव प्रस्ट देखिन्छ। विशेष गरी, पोस्टरमा महेश त्रिपाठी हातमा बन्चरो बोकेर क्रुद्ध मुद्रामा प्रस्तुत हुनुले फिल्मभित्रको रहस्यमय र गम्भीर घटनाक्रमलाई सङ्केत गरेको छ।
बलिराम चौहानको लेखन र निर्देशनमा तयार भएको यो फिल्म साइकोलोजिकल थ्रिलर विधामा आधारित छ। फिल्ममा माथि उल्लिखित कलाकारका साथै सुरक्षा इटानी, ग्रिसमा कटुवाल, सहारा शर्मा लगायतका कलाकारको पनि अभिनय रहेको छ।
फिल्मका निर्माता निर्देशक चौहान स्वयं हुन्। यसमा सह-निर्माताको रूपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। फिल्मलाई नरेन्द्र मैनालीले छायाङ्कन गरेका छन् भने लोकेश बज्राचार्यको सम्पादन रहेको छ।



