
काठमाडौं – नेपाली सिनेमाकी चर्चित अभिनेत्री साम्राज्ञी आरएल शाह चाँडै नै विवाह बन्धनमा बाँधिने भएकी छन्। आज (मङ्गलवार) आफ्नो जन्मदिन मनाइरहेकी उनले एक दिनअघि, अर्थात् मङ्सिर १ गते, आफ्ना प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन्।
अभिनेत्री शाहले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ जीवनको सुरुवात भएको जानकारी दिएकी हुन्। उनले इन्गेजमेन्टका केही रोमान्टिक तस्बिरहरू सेयर गर्दै प्रेमीका लागि हार्दिक शब्दहरू खर्चिएकी छन्। यद्यपि, उनले आफ्ना प्रेमीको नाम भने गोप्य राखेकी छन्।
इन्स्टाग्राममा प्रेमीको प्रशंसा गर्दै साम्राज्ञीले लेखेकी छन्:
“जसका लागि मैले प्रार्थना गरेकी थिएँ। मेरो भाषा बोल्न सक्ने शान्त आत्मा, म तपाईँप्रति यति आभारी छु कि त्यो शब्दहरूभन्दा बाहिर छ। जब तिम्रा आँखा मेरा आँखामा पर्छन्, त्यहाँ एउटा विशेष जादु हुन्छ, एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ। मेरो हात यति बलियोसँग समातेकोमा धन्यवाद, यो छुट्ने छैन।”
सेयर गरिएका तस्बिरहरूमा साम्राज्ञी र उनका प्रेमी निकै रोमान्टिक मुद्रामा देखिएका छन्। चाखलाग्दो पक्ष के छ भने, अभिनेत्रीले सार्वजनिक गरेका कुनै पनि तस्बिरमा प्रेमीको अनुहार स्पष्ट देखिएको छैन। यसै वर्षभित्र उनीहरू वैवाहिक बन्धनमा बाँधिने तयारीमा रहेको बुझिएको छ।
इन्स्टाग्राममा उनको यो पोस्ट सार्वजनिक भएसँगै श्वेता खड्का, प्रियङ्का कार्की जोशी, सन्ध्या केसी, ओसिन सिटौला, नम्रता सापकोटा, नम्रता श्रेष्ठ लगायतका धेरै चलचित्रकर्मी तथा सेलिब्रेटीहरूले साम्राज्ञीलाई बधाई तथा शुभकामना दिएका छन्।
आजबाट ३० वर्षमा प्रवेश गरेकी साम्राज्ञीले फिल्म ‘ड्रिम्स’बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनले ‘ए मेरो हजुर २’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘तिमीसँग’, ‘मारुनी’, ‘ह्यारी कि प्यारी’ जस्ता केही महत्त्वपूर्ण फिल्ममा काम गरिसकेकी छन्।






