
काठमाडौं – रिलिजको सम्मुखमा रहेको नेपाली चलचित्र ‘हर्ष’ले देशका प्रमुख सहरहरूमा आफ्नो प्रचार अभियानलाई तीव्रता दिएको छ। सोही क्रममा, चलचित्रको निर्माण टोली शुक्रवार पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्र झापाका विभिन्न शैक्षिक संस्थाहरूमा पुगी विद्यार्थी तथा आम दर्शकहरू माझ फिल्मको कथावस्तु र सन्देश प्रस्तुत गरेको छ।
झापाको बिर्तामोडमा आयोजित अन्तरक्रिया कार्यक्रममा निर्देशक एकता पौडेल, मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत सहभागी थिए। टोलीले लिङ्कन कलेज, निधि स्कुल, वाल्मीकि स्कुल, र चिल्ड्रेन स्कुल लगायतका स्थानमा पुगेर विद्यार्थीहरूसँग भेटघाट गरेको हो। यस क्रममा उनीहरूले ‘हर्ष’ को पारिवारिक कथावस्तुको महत्वबारे जानकारी दिँदै दर्शकहरूलाई सिनेमा हेर्न आग्रह गरेका थिए।
चलचित्रका सार्वजनिक प्रचार सामग्रीहरूले ‘हर्ष’ ले नेपाली पर्दामा लामो समयदेखि ओझेलमा परेको शुद्ध पारिवारिक कथावस्तु लाई पुनर्जीवन दिने सङ्केत गरेको छ। आगामी मङ्सिर १२ गतेबाट देशभर प्रदर्शनमा आउने यो चलचित्रले पछिल्लो समय घट्दै गएको ‘पारिवारिक सिनेमा’ को ट्रेन्डलाई स्थापित गर्ने लक्ष्य लिएको निर्देशक पौडेलले बताइन्।
चलचित्रमा खगेन्द्र र वर्षासँगै निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित लगायतका कलाकारहरूको अभिनय रहेको छ।



