
काठमाडौं – केही समयअघि बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल आफ्नो नयाँ प्रोजेक्ट ‘अभिमन्यु : च्याप्टर १’ लिएर दर्शकमाझ आउँदै छन्। यस पटक उनले चलचित्र उद्योगमा व्याप्त ‘ठुलो र सानो चलचित्र’को परम्परागत भाष्यमाथि नै प्रश्न उठाएका छन्।
निर्माता पौडेलले आफ्नो आगामी चलचित्रलाई बजेट वा कलाकारको ‘स्टारडम’का आधारमा मात्रै मूल्याङ्कन नगर्न आग्रह गरेका छन्। उनको स्पष्ट बुझाइ छ– ‘चलचित्र रिलिजअघि होइन, रिलिजपछि मात्रै सानो वा ठुलो हुन्छ।’
पौडेलको तर्कलाई उनकै अघिल्लो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले प्रमाणित गरिसकेको छ। करिब डेढ करोडको लागतमा निर्माण भएको उक्त चलचित्रले नेपाली बक्स अफिसमा ४६ करोड ८० लाखभन्दा बढीको कीर्तिमानी व्यापार गर्यो। यसै उदाहरणलाई अघि सार्दै पौडेल भन्छन्, ‘‘जुन चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्छ र दर्शकको मन जित्छ, त्यही चलचित्र ठुलो हो। केवल महँगो बजेट र चलेका अनुहार हुँदैमा चलचित्र ठुलो कहलिँदैन।’’
स्टारकास्ट भएका चलचित्र मात्र चल्छन् र नभएका चल्दैनन् भन्ने भ्रमलाई तोड्न ‘अभिमन्यु’ सफल हुनेमा उनी विश्वस्त देखिन्छन्।
विभिन्न कारणवश प्रदर्शन मिति सर्दै आएको भए पनि निर्माता पौडेल चलचित्रको गुणस्तरप्रति ढुक्क छन्। उनले आफ्नो टिम र चलचित्रलाई ‘अन्डर डग’ (कम आँकिएका तर क्षमतावान्) को संज्ञा दिँदै यसलाई कमजोर नठान्न आग्रह गरे।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’ यही मङ्सिर १८ गतेदेखि प्रदर्शनमा आउँदै छ। सुशान्त गौतमको निर्देशन रहेको यस चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, र शिशिर वाङ्देल लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
चलचित्रको लेखन मुकेश खनालले गरेका हुन् भने क्रिएटिभ डिरेक्टरको जिम्मेवारी मदन थापाले सम्हालेका छन्। निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी रहेका छन्। त्यस्तै, कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्। शरद महतोको छायाङ्कन, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ र मदन घिमिरेको सम्पादन रहेको छ।



