
काठमाडौं – नेपाली रजतपटमा नारी संवेदना र सामाजिक कथावस्तुमा आधारित नयाँ चलचित्र ‘स्त्री’ प्रदर्शनका लागि तयार भएको छ। सयौँ म्युजिक भिडियो निर्देशन गरेर पहिचान बनाएका निर्देशक जीवन शाहीको डेब्यु निर्देशकीय चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरेको छ।
निर्माण पक्षले दिएको जानकारी अनुसार, यो चलचित्र आगामी फागुन २९ गते देखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ। प्रदर्शन मिति घोषणासँगै चलचित्रको टाइटल डिजाइन पनि सार्वजनिक गरिएको छ।
सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी, दीपाश्री निरौला, बाल कलाकार दिप्सन चिलवाल लगायतको अभिनय छ। मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता समीर राई हुन्। कथा निर्देशक शाही स्वयंले लेखेका हुन् भने पटकथा लेखनमा उनलाई किशन अर्यालले सघाएका छन्।



