वर्षाका लागि किन विशेष छ ‘हर्ष’ ?



काठमाडौं – नेपाली रजतपटमा अभिनेत्री वर्षा राउतले आफ्नो अभिनय यात्राको एक दशक टेक्नै लागेकी छिन्। चलचित्र ‘नाइँ नभन्नू ल ४’ बाट अभिनयमा पाइला टेकेकी वर्षाले यो १० वर्षको अवधिमा थुप्रै आरोह-अवरोह पार गरिसकिन्। प्रायः ‘गर्ल नेक्स्ट डोर’ वा गृहिणीको भूमिकामा रुचाइएकी वर्षा, अब भने त्यो परम्परागत घेरा तोड्दै चलचित्र ‘हर्ष’ मार्फत कथाको मियो अर्थात् केन्द्रीय पात्रका रूपमा देखिँदै छिन्।

प्रायः मल्टिस्टार चलचित्रको भीडमा रमाइरहेकी वर्षाका लागि ‘हर्ष’ विशेष छ। नव-निर्देशक एकता पौडेलको निर्देशनमा तयार भएको यस चलचित्रमा उनले वंश परम्परा धान्नै पर्ने पुरातन सामाजिक र पारिवारिक दबाबको चेपुवामा परेकी बुहारीको सशक्त भूमिका निर्वाह गरेकी छिन्।

लामो समयपछि कथाको मुख्य भार आफ्नो काँधमा आएकोमा वर्षा उत्साहित त छिन्, तर सँगै दर्शकको खबरदारीप्रति सचेत पनि छिन्। उनी भन्छिन्, ‘‘केन्द्रीय भूमिकामा देखिँदा दर्शकले पक्कै पनि मेरो कामलाई अझ सूक्ष्म ढङ्गले हेर्नुहुनेछ। विगतका फिल्मभन्दा वर्षाले कत्तिको सुधार गरिन् भन्ने मूल्याङ्कन हुनेछ, र मैले त्यो अपेक्षा पूरा गर्ने कोसिस गरेकी छु।’’

चलचित्रमा सन्तान नहुँदाको पीडा र भोगाइ देखिए पनि यसमा आफ्नो निजी जीवनको कुनै छाया नपरेको उनी स्पष्ट पार्छिन्। ‘‘मैले निर्देशकले परिकल्पना गरेको ‘इसेन्स’ लाई पर्दामा उतारेकी हुँ। यो एउटा पात्रको कथा हो, जसलाई मैले न्याय गर्ने प्रयास गरेकी छु,’’ उनले भनिन्।

कथा सुनेपछि पात्रमा डुब्न सक्ने आत्मविश्वास बढेपछि चलचित्रमा अनुबन्धित भएकी वर्षाले ‘हर्ष’ लाई केवल ‘रुवाउने फिल्म’ को ट्याग नदिन आग्रह गरिन्। ‘‘ट्रेलर हेर्दा यो पारिवारिक कथा हो र यसले रुवाउँछ भन्ने लाग्न सक्छ। हो, यसले आँसु झारिदिन्छ, तर त्यो पीडाको होइन, खुसीको आँसु हुनेछ,’’ वर्षाले फिल्मको भाव स्पष्ट पार्दै भनिन्, ‘‘अहिले नेपाली बक्स अफिसमा पारिवारिक फिल्मले राम्रो गरिरहेका छन्। दर्शकले यसमा पनि आफ्नै परिवारको कथा भेट्नुहुनेछ भन्नेमा म आशावादी छु।’’

अभिनेता खगेन्द्र लामिछानेसँग जोडी बाँधिएकी वर्षाले पर्दामा उनीहरूको केमेस्ट्री जम्ने विश्वास व्यक्त गरेकी छिन्। ‘हर्ष’ यही मङ्सिर १२ गते देखि देशभर प्रदर्शनमा आउँदै छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu