
काठमाडौं – नेपाली चलचित्र ‘परालको आगो’ को सम्पूर्ण छायाङ्कन कार्य सम्पन्न भएको छ। दसैँको छेको पारेर म्याग्दीका रमणीय स्थानहरूमा सुटिङ थालेको यस फिल्मले निर्धारित तालिका भन्दा १० दिन ढिलो गरी मङ्गलवार काम सकाएको हो।
निर्माण टोलीले छायाङ्कन सकिएको घोषणासँगै तीन फरक-फरक ‘लुक्स’का तस्बिरहरू सार्वजनिक गरेको छ। साथै, फिल्मको प्रदर्शन मिति पनि आगामी वैशाख ११ गते लाई तोकिएको छ।
फिल्मका निर्माता सुशील पोखरेलले प्रदर्शन मिति चयन गर्दा विशेष सावधानी अपनाइएको बताएका छन्। उनले ठुला चाडपर्व वा अन्य महत्त्वपूर्ण मितिहरूमा फिल्म प्रदर्शन नगर्ने निर्णय लिएको बताए। “मैले अन्य फिल्महरूलाई पनि स्थान दिनुपर्छ भन्ने मान्यता राख्दै सबै ‘मेजर’ डेटहरू छाडेको छु,” निर्माता पोखरेलले भने, “एकै पटक धेरै फिल्म हलमा आउँदा निर्माता र हल व्यवसायी दुवैलाई ठुलो नोक्सानी हुने भएकाले, हामीले निर्माता र हल दुवै पक्षलाई फाइदा होस् भन्ने सोचका साथ वैशाख ११ गते शुक्रवार को ‘साधारण’ मितिलाई प्रदर्शनका लागि ‘डेट लक’ गरेका छौँ।”
गुरुप्रसाद मैनालीको चर्चित कथा ‘नासो’ सङ्ग्रहमा समावेश ‘परालको आगो’ माथि यो चलचित्र निर्माण गरिएको हो। ४५ वर्षअघि प्रताप सुब्बाले यही कथामा फिल्म बनाएर अत्यधिक सफलता पाएका थिए। नयाँ चलचित्र भने लक्ष्मण सुनारले निर्देशन गरेका छन्। यसमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शङ्कर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार एन्जिला बानियाको अभिनय रहेको छ।






