
काठमाडौं – मङ्सिर १८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी भर्सनको टिजर सार्वजनिक भएको छ। नेपाली दर्शकका साथै हिन्दी भाषी दर्शकहरूलाई लक्षित गर्दै निर्माण पक्षले फिल्मको हिन्दी संस्करणको टिजर सार्वजनिक गरेको हो।
नेपाली र हिन्दी दुवै भाषामा निर्माण भएको यो चलचित्र नेपाल, भारत र विश्वभर एकसाथ प्रदर्शनमा आउने भएकाले विशेष गरी भारत र ओभरसिज (विदेशी) बजारलाई ध्यानमा राखी हिन्दी टिजर सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजरमा चलचित्रका अधिकांश प्रमुख कलाकारहरूलाई समेटिएको छ। टिजरमा प्रेम, सस्पेन्स, पैसाको लोभ, अपहरण, सम्पत्ति (सेयर) बाँडफाँटको विवाद, प्रहरी हिरासतमा पुगेको अभियुक्त र उसको बयान जस्ता महत्त्वपूर्ण पाटोहरूलाई उजागर गरिएको छ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन्, भने यसको क्रिएटिभ निर्देशकको भूमिकामा मदन थापा छन्। चलचित्रको पटकथा मुकेश खनालले लेखेका हुन्।
‘अभिमन्यु : च्याप्टर १’का निर्माताहरू विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको यस चलचित्रमा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। चलचित्रको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन्।
प्राविधिक तर्फ, शरद महतोको डिओपी (छायाङ्कन), मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रङ्ग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ।
टिजरः



