
काठमाडौं – यस वर्ष नेपाली बक्स अफिसमा तहल्का मच्चाइरहेको चलचित्र ‘परान’ले घरेलु कमाइसँगै अन्तर्राष्ट्रिय बजारमा पनि उल्लेखनीय सफलता कायम गरिरहेको छ। दीपक प्रसाद आचार्य ‘काकु’ निर्देशित यो ‘फेमिली ड्रामा’ २०८२ सालको सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रका रूपमा उदाउँदै विदेशस्थित नेपाली समुदायमा समेत रुचि बटुलेको छ।
अस्ट्रेलियामा बलियो सुरुवात : चौथो दिनमै ६२ हजार डलर
वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका अनुसार ‘परान’ले अस्ट्रेलियाली बक्स अफिसमा अत्यन्तै उत्साहजनक सुरुवात गरेको छ। रिलिजको चौथो दिन आइपुग्दा चलचित्रले ६२ हजार अस्ट्रेलियन डलर कमाइसकेको छ भने ३० भन्दा बढी शो चलिरहेका छन्।
निर्माता रञ्जित आचार्यका अनुसार अस्ट्रेलियाको पहिलो चार दिनको कलेक्सनका आधारमा ‘परान’ साप्ताहिक टप १० भित्र परेर छैटौँ स्थानमा उक्लिएको छ। बलिउड र हलिउडका ठुला चलचित्रहरूसँगै प्रतिस्पर्धामा प्रदर्शन भइरहेका बिच ‘परान’ले यसै हप्तासम्म १ लाख अस्ट्रेलियन डलर नाघ्ने अनुमान गरिएको छ।
घरेलु बक्स अफिसमा १५ करोड माथि
नेपालमा पनि चलचित्रको सफल यात्राले उचाइ लिइरहेको छ। कार्तिक १४ बाट सार्वजनिक प्रदर्शनमा आएको ‘परान’ले चौथो शनिवारसम्म १४ करोड १६ लाख ५१ हजार रुपैयाँ ग्रस कमाइसकेको रिपोर्ट चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ भने हालसम्म १५ करोड माथिको ग्रस गरिसकेको छ।
रिलिजअघि अत्यधिक व्यापार गर्ने चलचित्रका रूपमा अनुमान नगरिए पनि कथा, अभिनय र भावनात्मक प्रभावका कारण ‘परान’ लगातार १ करोडभन्दा माथिका वीकएन्ड व्यापार गर्न सफल रहँदै आएको छ।
पोर्चुगलमा पनि प्रदर्शन: डिसेम्बर १, २, ३ मा लिस्बनमा शो
अस्ट्रेलिया र न्यूजिल्यान्डमा प्रदर्शनमा रहेकै बेला ‘परान’ अब अर्को युरोपेली थलो पोर्चुगलतर्फ प्रस्थान गर्दैछ। पाँच जना युवाले मिलेर सञ्चालन गरेको थ्याङ्क यु इन्टरटेन्मेन्टको डिस्ट्रिब्युशनमा चलचित्र डिसेम्बर १, २ र ३ मा पोर्चुगलको राजधानी लिस्बनस्थित क्याम्पो पिकेनोको सिनेमा सिटी हलमा साँझ ५ बजे प्रदर्शन हुने भएको छ।
थ्याङ्क यु इन्टरटेन्मेन्टमा चलचित्रकर्मी तथा समाजसेवी सन्तोष तामाङ, निर्देशक प्रवेश पौडेल, मोडल तथा रेस्टुरेन्ट व्यवसायी भावेश बस्नेत, व्यवसायी अनिल अधिकारी र समाजसेवी सञ्जीव शाह आबद्ध छन्। समूहले ‘परान’पछि पनि नेपाली चलचित्रलाई पोर्चुगल तथा युरोपका अन्य स्थानमा निरन्तर प्रदर्शन गराउँदै अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्य राखेको छ।
दीपक प्रसाद आचार्यले निर्देशन गरेको ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङलगायतको दमदार अभिनय छ। चलचित्रमा रञ्जित आचार्य र शेखर गोल्छाको लगानी रहेको छ।



