
काठमाडौं – शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘हर्ष’ को भव्य प्रिमियर शो बुधवार ललितपुरको लविम मलमा सम्पन्न भएको छ। भावुक र उत्साहजनक माहौलमा आयोजित यस प्रिमियरमा निर्माता, निर्देशक, कलाकार, लेखक, र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
लामो समयदेखि मुम्बईमा बस्दै आएकी नेपाली सिनेमाकी चर्चित अभिनेत्री निरुता सिंह ले प्रिमियरमा उपस्थित भएर फिल्मप्रति आफ्नो समर्थन जनाइन्। उनले एकता पौडेलको डेब्यु निर्देशकीय चलचित्र ‘हर्ष’ एकदमै राम्रो र सन्देशमूलक बनेको भन्दै प्रशंसा गरिन्।
सिंहले फिल्मको सुरुवातमा स्वर्गीय निर्देशक शिव रेग्मीको तस्बिर देख्दा आफू भावुक बनेको अनुभव सुनाइन्। “यो सिनेमा एकदमै सन्देशमूलक छ। यस्ता घटनाहरू हाम्रो समाज र परिवारमा घटेको मैले देखेकी छु। त्यसैले एक पटक यो चलचित्र सबैले हेर्नुहोला,” उनले दर्शकलाई आग्रह गरिन्।

स्वर्गीय निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी ले पनि ‘हर्ष’ उत्कृष्ट बनेको भन्दै भान्जी एकता पौडेललाई सफलताको शुभकामना दिइन्। उनले भावुक हुँदै भनिन्, “१२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन्, आज हाम्रो परिवारमा त्यस्तै भएको छ। १२ वर्षपछि भान्जी एकताले सिनेमा निर्माण तथा निर्देशन गर्ने आँट गरिन्। एकदमै खुसी लागेको छ।”
चलचित्रका मुख्य अभिनेता खगेन्द्र लामिछाने पनि प्रिमियर शोमा प्राप्त प्रतिक्रियाले निकै खुसी देखिए। “मैले पहिलो पटक फरक खालको चलचित्र गरेको थिएँ, कस्तो बन्ला भन्ने कौतुहलता थियो। सबैले मन पराइदिनु भयो, खुसी लागेको छ,” लामिछानेले भने, “अब दर्शकले पनि मन पराउनु हुनेछ भन्ने विश्वास छ।”
अभिनेता तथा व्यवसायी सन्जोग कोइराला ले ‘हर्ष’लाई फरक अनुभव दिने पारिवारिक चलचित्रको रूपमा व्याख्या गर्दै सबैलाई हेर्न आग्रह गरे। त्यस्तै, अभिनेत्री वर्षा राउतले पनि प्रिमियरमा सिनेमा राम्रो बनेको प्रतिक्रिया सुन्दा आफू हर्षित बनेको बताइन्।
डेब्यु निर्देशक एकता पौडेलले बाल्यकालदेखि नै सिनेमा निर्माण र निर्देशन गर्ने सपना साकार भएकोमा खुसी व्यक्त गरिन्। “आज प्रिमियर शोमा सिनेमा हेर्नु भएका पाहुनाहरूले मामा (शिव रेग्मी) को झल्को दिन सफल भएको बताउनुभएको छ। त्यसले आगामी दिनमा अझै राम्रा सिनेमा निर्माण गर्नु पर्ने चुनौती समेत थपेको छ,” उनले भनिन्, “चलचित्रकर्मी तथा पत्रकारहरूले जस्तै दर्शकले पनि ‘हर्ष’ मन पराउनु हुन्छ भन्ने अपेक्षामा छु।”
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिजको ब्यानरमा निर्मित यो सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो। फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत सँगै निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बाल कलाकार साइमन वादीको अभिनय रहेको छ।



