नयाँ वर्षमा विपिनको ‘काजी’ रिलिज हुने



काठमाडौं –  विपिन कार्की अभिनीत नेपाली चलचित्र ‘काजी’को प्रदर्शन मिति निश्चित भएको छ । आगामी नयाँ वर्ष लक्षित गरी निर्माण टिमले शुक्रवार चलचित्रको फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत २७ गते लाई रिलिज मिति तोकेको हो ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको ‘काजी’को फर्स्ट लुकमा सिनेमाका मुख्य पात्रहरूको गम्भीर भाव झल्केको छ । पोस्टरमा अभिनेता विपिन कार्की ‘यङ्ग एन्ड ह्यान्डसम’ लुक्समा देखिएका छन् । चिटिक्क पारेर कोरेको कपाल, दारी र सर्टमा रहेका उनी केही गम्भीर मुद्रामा गहन सोचमा डुबेको जस्तो देखिन्छन् ।

यसै गरी, पोस्टरमा अभिनेत्री केकी अधिकारी लाई प्रतीकात्मक रूपमा विपिनको मुटुमा (छातीको भागमा) राखिएको दृश्यले उनीहरूको भावनात्मक सम्बन्धलाई दर्साउँछ । साथै, दुवै जना सँगै बसेर खाना खाइरहेको विगतका क्षणहरू सम्झिएको आभास पोस्टरले दिएको छ । यस प्रस्तुतिले चलचित्रको कथा पारिवारिक लभ स्टोरी मा केन्द्रित रहेको बलियो सङ्केत गर्दछ ।

‘काजी’ मा विपिन कार्की र केकी अधिकारीसँगै अन्य दिग्गज तथा प्रतिभाशाली कलाकारहरूको अभिनय रहेको छ । जसमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मि भट्ट, हिउवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गङ्गा शर्मा, नवराज गिरि, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा तथा बाल कलाकार दिक्षिता अर्याल लगायत छन् ।

निर्देशक लक्ष्मण रिजालले ‘काजी’ मार्फत करिब आठ वर्षपछि निर्देशनमा ‘कमब्याक’ गरेका हुन् । आफूले खोजेको जस्तै सशक्त कथावस्तु (स्क्रिप्ट) भेटिएकाले नै पुनः निर्देशनमा फर्किएको उनले बताएका छन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलबिदा’, ‘कायरा’ जस्ता चलचित्रहरू निर्देशन गर्नुका साथै ‘डिसेम्बर फल्स’ र ‘गणपति’ लगायतका चलचित्र निर्माण पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu