
काठमाडौं – आगामी मङ्सिर २६ गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘पीआर’ अस्ट्रेलिया र न्युजिल्याण्डमा पनि रिलिज हुने भएको छ। ती देशहरूमा प्रदर्शन गर्नका लागि मि.श्रेष्ठ प्रोप्राइटरी लिमिटेड र श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेका छन्। यसअघि, ‘पीआर’ले अस्ट्रेलियाका विभिन्न सहरहरूमा विशेष शोहरू आयोजना गरेको थियो। ती शोहरूमा उपस्थित भएका अधिकांश दर्शकहरूले चलचित्रको उच्च प्रशंसा गरेका थिए।
शोभित बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा आर.ए.सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्। चलचित्रमा दिग्गज कलाकारहरू नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम के.सी.नेपाल, र दिक्पाल कार्की लाई विशेष भूमिकामा देख्न सकिन्छ।
रञ्जित साह र सन्तोष तिवारी को प्रस्तुति रहेको यस चलचित्रमा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। फिल्मको कथा गणेश बुढाथोकी ले लेखेका हुन् भने सम्पादनको जिम्मेवारी बन्दे प्रसाद ले सम्हालेका छन्। सौरभ सायमी र सौरभ लामाले क्यामेरा चलाएका छन्।






