चलचित्र ‘अभिमन्यु’ हेर्नुपर्ने कारण के के हुन् ?



काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ अब अन्ततः दर्शकमाझ आउने पक्का भएको छ। लामो समयदेखि प्रदर्शन मिति सर्दै आएको यो सिनेमा आउँदो मङ्सिर १८ गते नेपालभर नेपाली र हिन्दी दुवै भाषामा एकसाथ रिलिज हुँदैछ।

‘अभिमन्यु : च्याप्टर–१’ किन हेर्ने? यहाँ छन्, यसका पाँच मुख्य कारणहरू:

१. कामेश्वर चौरसियाको ‘डेब्यू’ सोलो लिड

दशकौँदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय अभिनेता कालेश्वर चौरसियाको लागि ‘अभिमन्यु’ पहिलो ‘सोलो लिड’ चलचित्र हो। सहायक र अन्य भूमिकामा दुई दशक बिताएपछि उनले पहिलो पटक पूर्ण रूपमा मुख्य अभिनेताको जिम्मेवारी पाएका छन्। आफ्नो लामो अनुभव र मेहनतलाई प्रमाणित गर्ने यो अवसर भएकाले उनको प्रदर्शन हेर्न दर्शकहरू आतुर छन्।

२. लक्ष्मी बर्देवाको प्रतीक्षित मुख्य भूमिका

अभिनेत्री लक्ष्मी बर्देवाको लागि पनि ‘अभिमन्यु’ नै रिलिज हुने पहिलो सोलो लिड चलचित्र बन्ने भएको छ। यसअघि उनले मुख्य भूमिका निभाएका चार वटा चलचित्र प्रदर्शनमा आउन नसकेका कारण रोकिएका थिए। पर्खाइपछि रिलिज हुने लक्ष्मी बर्देवाको मुख्य भूमिका कस्तो रहनेछ भन्ने जान्नका लागि पनि यो चलचित्र महत्त्वपूर्ण बनेको छ।

३. ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माताको दोस्रो इनिङ्स

‘अभिमन्यु : च्याप्टर–१’ नेपालको इतिहासमै सर्वाधिक कमाइ (करिब ४७ करोड रुपैयाँ ग्रस कलेक्सन) गर्ने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माताले बनाएको दोस्रो प्रोजेक्ट हो। ऐतिहासिक रूपमा सफल चलचित्रका निर्माताको दोस्रो प्रस्तुति कस्तो बन्नेछ भन्ने जिज्ञासा धेरैमा छ। सफल निर्माताको नयाँ प्रयोग हेर्नु यस चलचित्र हेर्नुको अर्को बलियो आधार हो।

४. ‘नयाँ’ कलाकारमाथि निर्माताको लगातार भरोसा

‘पूर्ण बहादुरको सारङ्गी’ मा पनि निर्माता विनोद पौडेलले ‘दोस्रो रोजाइ’ का कलाकारहरूलाई लिएर ऐतिहासिक सफलता हासिल गरेका थिए। यस पटक पनि उनले कसैले सोलो लिडमा अवसर नदिएका कलाकारहरूलाई लिएर चलचित्र बनाएका छन्। आखिर किन पौडेलले फेरि ‘रिस्क’ लिएर स्थापित नभएका कलाकारहरूमाथि लगानी गरे? पक्कै पनि चलचित्रमा कुनै सबल पक्ष हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ। यो ‘रिस्क’ को परिणाम र कारण बुझ्न पनि चलचित्र हेर्न आवश्यक छ।

५. कथावस्तु र मधेसी फ्लेवरको प्रयोग

निर्माता पौडेलले यस पटक चलचित्रमा भोजपुरी फ्लेवरको गीत समावेश गरेका छन् र मुख्य अभिनेता पनि मधेसी मूलका छन्। के यो चलचित्रले पूरै मधेसको कथा बोकेको छ वा यसको कथावस्तु के छ? यी विषयहरूमा रहेको रहस्य जान्नका लागि पनि ‘अभिमन्यु : च्याप्टर–१’ पर्दामा हेर्नैपर्छ।

यस चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ। यसका निर्देशक सुशान्त गौतम हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu