
काठमाडौं – आगामी चैत २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को पहिलो पोस्टर (फर्स्ट लुक्स) सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शनको तयारीलाई तीव्रता दिएको हो।
सार्वजनिक पोस्टरमा मुख्य कलाकार सागर लम्साल (बले) को विशेष लुक्सलाई प्राथमिकता दिइएको छ। पोस्टरमा उनी हातका औँलाले सिगरेट समातेर झुम्म परेको अवस्थामा देखिएका छन्। यो दृश्यले युवा पुस्तामा बढ्दै गएको कुलत र त्यसले निम्त्याउने असरप्रति निर्देशकले फिल्ममार्फत कुनै गम्भीर सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ।
राजु गिरीको निर्देशनमा तयार भएको यस फिल्मको पटकथा तथा संवाद लक्ष्मण सुवेदीले लेखेका हुन्। फिल्ममा कलाकार सागर लम्साल (बले) सँगै रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रवीन्द्र झा, कैलाश रावत, विशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी, माधबा खनाल, सुस्मा के सी, नवराज गिरि लगायतका कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकारको भूमिकामा कङ्गना गिरी, रोनिश खड्का र काजल गिरी रहेका छन्।






