
काठमाडौं – नेपाली चलचित्र ‘रोल नं. १’ को छायाङ्कन म्याग्दी जिल्लाबाट सुरु भएको छ। निर्माण पक्षले दिएको जानकारीअनुसार, दुई हप्ता लामो गहन प्रशिक्षणपश्चात् चलचित्र युनिट छायाङ्कनका लागि निस्किएको हो। निर्माता विनोद पौडेलले करिब डेढ महिनाको तालिका तय गरिएको जानकारी गराए।
यस चलचित्रको मुख्य कथावस्तु भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबमा केन्द्रित रहेको निर्माता पौडेलले बताए। यो कथाले ‘सबैलाई जित्नै पर्ने’, ‘नजिते इज्जत नै हुँदैन’, र ‘कक्षाको प्रथम (फर्स्ट) मात्रै विद्वान हो, अरू मूर्ख हुन्’ जस्ता हानिकारक सामाजिक मान्यता र शैक्षिक प्रतिस्पर्धाको नकारात्मक असरलाई उजागर गर्नेछ।
चलचित्रमा स्थापित कलाकारहरू मुकुन भुसाल र सुशांक मैनालीसँगै रेणु योगी, सिर्जना अधिकारी, सुन्दर धिताल र निर्भीक रेग्मीको मुख्य भूमिका रहनेछ। चलचित्रलाई जौन योञ्जनले निर्देशन गर्दैछन्, जसको कथा पनि उनी स्वयंले तयार पारेका हुन्। यसअघि सार्वजनिक गरिएको चलचित्रको ‘फर्स्ट लुक’ पोस्टरमा कक्षाकोठाभित्र एक बालकले हात उठाएर उपस्थिति जनाइरहेको र अगाडि निलो सर्ट लगाएका अन्य विद्यार्थीहरूको भीड देखाइएको थियो, जसले शैक्षिक वातावरणको सङ्केत दिएको थियो।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यस चलचित्रको निर्माणमा विनोद पौडेल र गुञ्जन गिरी रहेका छन्, भने रमेश चौलागाईं कार्यकारी निर्माताको जिम्मेवारीमा छन्। पटकथा तथा संवाद महेश दवाडीको छ भने सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ।






