‘पीआर’को प्रचारका लागि अस्ट्रेलियाबाट आए नायक-नायिका



काठमाडौं – आगामी मङ्सिर २६ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पीआर’ को निर्माण पक्षले फिल्मलाई दर्शकमाझ पुर्‍याउन प्रचारप्रसारलाई तीव्र गति दिएको छ। सोही क्रममा, चलचित्रका निर्देशक शोभित बस्नेत अस्ट्रेलियामा रहेका मुख्य कलाकारहरूलाई लिएर नेपाल फर्किएका छन्।

निर्देशक बस्नेतले एक साताअघि अस्ट्रेलिया पुगेर चलचित्रका नायक आर ए सुरज पौडेल र नायिका विनीता कार्की लाई साथमा लिएर आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

नेपाल ओर्लिए लगत्तै पत्रकारहरूसँग कुरा गर्दै निर्देशक बस्नेतले फिल्मलाई थप उचाइमा पुर्‍याउन र दर्शकमाझ बलियो उपस्थिति जनाउन मुख्य कलाकारहरूको उपस्थिति अनिवार्य रहेको बताए। “फिल्मलाई दर्शकमाझ पुर्‍याउन कलाकारको पनि ठुलो हात हुन्छ,” उनले भने, “अब नायक-नायिकालाई नै लिएर नेपाल फर्किएको छु। अब व्यापक रूपमा प्रचारप्रसारमा लागिन्छ।”

बस्नेत अस्ट्रेलियासहित विभिन्न देशमा चलचित्र प्रदर्शनको व्यवस्थापन मिलाउन गएका थिए।

चलचित्रका नायक सुरज पौडेलले ‘पीआर’ को प्रचारका लागि आफू नेपाल आएको बताए। “चलचित्रको कलाकार खोजी भइरहेको हामीले अस्ट्रेलियामा पनि सुनेका थियौँ,” उनले भने, “त्यो खोजीले हामीलाई नेपालसम्म तानेको हो।”

डेब्यु फिचर चलचित्र भएकी नायिका विनीता कार्की पनि प्रचार र यहाँका दर्शकसँग साक्षात्कारका लागि नेपाल आएको बताउँछिन्। “फिल्मलाई लिएर निकै उत्साहित छु,” उनले भनिन्, “अस्ट्रेलियामा भएको विशेष शोमा पनि दर्शकले असाध्यै मन पराइदिनु भएको थियो। फिल्म रिलिजपछि नेपालका दर्शकले पनि मन पराइदिनुहुन्छ भन्नेमा विश्वास छ।”

निर्माण टोली सोमबारबाट नै थप प्रचार सामग्रीसहित व्यापक प्रचारमा जुट्ने तयारीमा रहेको नायिका कार्कीले जानकारी दिइन्।

यस चलचित्रमा आर.ए सुरज पौडेल र विनीता कार्कीका साथै दिग्गज कलाकारहरू नीर शाह, गौरी मल्ल को मुख्य अभिनय रहेको छ। यस्तै, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको पनि अभिनय रहेको छ। विशेष भूमिकामा रवीन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्की देखिनेछन्।

रञ्जित साह र सन्तोष तिवारी प्रस्तुत कर्ता रहेको यस फिल्मका निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu