चलचित्र ‘पीआर’को ट्रेलर सार्वजनिक



काठमाडौं – शोभित बस्नेतको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘पीआर’को आधिकारिक ट्रेलर मङ्गलवार सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत दर्शकमाझ ल्याइएको ३ मिनेट १ सेकेन्ड लामो उक्त ट्रेलरले विदेशमा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीहरूको सपना, सङ्घर्ष र कटु यथार्थ लाई सशक्त ढङ्गले उजागर गरेको छ ।

ट्रेलरको मूल कथावस्तु अध्ययनका लागि अस्ट्रेलिया पुगेका युवाहरूको जीवनमा केन्द्रित छ, जहाँ उनीहरूको प्रमुख लक्ष्य नै स्थायी बसोबास (पीआर) प्राप्त गर्नु रहेको छ । यसमा प्रेम र बिछोडको संवेदनशील पाटोलाई समेत मिश्रण गरिएको छ ।

निर्देशक बस्नेतले विशेषतः विदेशमा भोग्नुपर्ने चुनौतीपूर्ण दैनिकी र नेपालमा ऋण गरेर सन्तानलाई पठाएका अभिभावकले समयमा पैसा नपाउँदा उत्पन्न हुने पारिवारिक तनाव लाई अत्यन्तै मार्मिक रूपमा प्रस्तुत गरेका छन् । ट्रेलरले ‘जस्तो भए पनि आफ्नो देश आफ्नै हुन्छ’ भन्ने गहिरो राष्ट्रिय भावनाको सन्देश बोकेको देखिन्छ ।

आगामी मङ्सिर २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रमा आर ए सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायल, नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी नेपाल, दिक्पाल कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको लेखन गणेश बुढाथोकीले गरेका हुन् ।

सलोन-सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पीआर’का प्रस्तुत कर्ताहरूमा रञ्जित साह र सन्तोष तिवारी छन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले निर्माणको जिम्मेवारी लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu