काठमाडौं – दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको नेपाली चलचित्र ‘परिवर्तन’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। बुधवार निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा फिल्मका सात मुख्य कलाकारहरूलाई उनीहरूको चरित्रगत स्वरूप (क्यारेक्टर लुक्स) मा सशक्त रूपमा प्रस्तुत गरिएको छ, जसले फिल्मको एक्सन र सस्पेन्स जनरालाई थप उजागर गरेको छ।
पोस्टरको केन्द्रमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाइएको छ। गम्भीर चोटका बाबजुद पनि उनी सङ्घर्षको मैदानमा शत्रुमाथि बन्दुक तानेर उभिएका छन्। उनको यो भङ्गिमाले पर्दामा उनको पात्र ‘परिवर्तन’ का लागि आफ्नो सर्वस्व समर्पण गर्न तयार रहेको र कठोर प्रतिज्ञाको भाव बोकेको स्पष्ट सङ्केत गर्छ।
यस पटक अभिनेत्री अञ्जना बराइलीलाई दर्शकले पूर्णतया फरक प्रहरी इन्स्पेक्टरको भूमिकामा पाउने भएका छन्। पोस्टरमा उनको कडा र न्याय खोज्ने नजरले अपराध अनुसन्धानप्रतिको जिम्मेवारी र न्यायप्रतिको अविचलित प्रतिबद्धतालाई बलियोसँग प्रस्तुत गरेको छ। निर्माण पक्षका अनुसार अञ्जना लाई यो भूमिकामा दर्शकले यसअघि कहिल्यै नदेखेको नयाँपनका साथ हेर्न पाउनेछन्।

वरिष्ठ कलाकार सरोज खनाल र करिश्मा मानन्धरसँगै अभिनेताहरू बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि उनीहरूको सम्बन्धित क्यारेक्टर लुक्समै समावेश गरिएको छ।
विजय केरुङले निर्देशन गरेको यस फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे र बुद्धि तामाङको मुख्य अभिनय रहेको छ। दीपक सिवाकोटीको कथा तथा लगानीमा बनेको यस चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।






