
काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आज (बिहीबार) बाट देशव्यापी प्रदर्शनमा आएको छ । उँधौली पर्वको सार्वजनिक बिदाको अवसर पारेर चलचित्रले दर्शकमाझ आक्रामक प्रवेश गरेको हो ।
कामेश्वर चौरसिया र लक्ष्मी बर्देवाको मुख्य अभिनय रहेको यो चलचित्रले अधिकांश प्रमुख मल्टिप्लेक्स हलहरूमा सन्तोषजनक शोहरू प्राप्त गर्न सफल भएको छ ।
निर्माण टिमले चलचित्रले दर्शकको मन जित्नेमा पूर्ण विश्वास व्यक्त गरेको छ । यसको मुख्य आधार सोमबार सम्पन्न प्रिमियर शोमा सिनेमाकर्मी, कलाकार र पत्रकारहरूबाट प्राप्त भएको सकारात्मक ‘वर्ड अफ माउथ’ लाई मानिएको छ ।
प्रिमियरमा उपस्थित अधिकांशले चलचित्रको बलियो कथावस्तु, उच्च स्तरीय मेकिङ, आकर्षक प्रस्तुति र कलाकारको तारिफयोग्य अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए । यही बलियो प्रतिक्रियाका कारण अब आम दर्शकबाट पनि सोही किसिमको सकारात्मक ‘टक’ (वर्ड अफ माउथ) आउनेमा निर्माण पक्ष विश्वस्त छ ।
चलचित्रको कथावस्तु मुकेश खनालले लेखेका हुन् भने यसको निर्देशन सुशान्त गौतमले गरेका छन् । मदन थापा क्रिएटिभ निर्देशकको भूमिकामा छन् ।
कामेश्वर र लक्ष्मीका साथै किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायतका कलाकारको अभिनय रहेको छ । विशेष अतिथिको भूमिकामा अभिनेत्री रेखा थापा लाई पनि देख्न सकिनेछ ।
विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेको यो चलचित्रका सह-निर्माताहरूमा रमेश चौलागाईं र हरि श्रेष्ठ छन् । विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा रहेका छन् भने जीवन शाक्य लाइन प्रोड्युसर हुन् ।
प्राविधिक पक्षतर्फ, चलचित्रमा शरद महतोको सिनेम्याटोग्राफी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रङ्ग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ ।






