मङ्सिर २५ देखि १३औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल



काठमाडौं – विश्वभर मानव अधिकारका मुद्दाहरूलाई चलचित्रमार्फत उजागर गर्ने विशिष्ट उद्देश्यका साथ १३औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (NHRIFF) आगामी मङ्सिर २५ गतेदेखि  काठमाडौंमा भव्यताका साथ आयोजना हुने भएको छ। मङ्सिर २९ गतेसम्म चल्ने पाँच दिने यस महोत्सवले यस वर्षको मूल विषयवस्तुका रूपमा ‘बाल अधिकार’ लाई केन्द्रबिन्दुमा राखेको छ।

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका प्रेक्षालयहरूमा आयोजना हुने यस महोत्सवमा विश्वका २६ देशबाट छानिएका ५० उत्कृष्ट चलचित्रहरू प्रदर्शन गरिनेछन्। प्रदर्शनका लागि छनोट भएका धेरैजसो चलचित्रहरूले यसअघि नै कान्स, बर्लिनाले, भेनिस र बुसानजस्ता अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित महोत्सवहरूमा सहभागी भई चर्चा कमाइसकेका छन्, जसले महोत्सवको आकर्षण र विश्वसनीयतालाई थप बढाएको छ।

यसपटकको महोत्सवमा केही विशेष प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहेका छन्। तीमध्ये कान्स फिल्म फेस्टिभल २०२५ अन्तर्गत पाल्मे डी ओर (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’ प्रमुख हो। प्यालेस्टाइन, फ्रान्स र ग्रीसको सह-निर्माणमा तयार भएको यस फिल्मले बाल्यकालको रहस्य र गहिरो आघातका कारण दुई दाजुभाइबीच उत्पन्न भएको तनावलाई मार्मिक रूपमा देखाउँछ। कान्समै प्रिमियर भएको ‘नाभी लिली’ अर्को महत्वपूर्ण प्रस्तुति हो, जसले चीनको युनान प्रान्तमा बस्ने ९ वर्षीया लिलीको सामान्य जीवनमा आइपर्ने एक आकस्मिक घटनाले निम्त्याएको क्षतिलाई चित्रण गर्दछ।

यसैगरी, ग्रामीण बिहारमा सामाजिक अवरोधहरूको विरुद्धमा विद्यालय जान कटिबद्ध रहेकी सलोनी नामक पात्रमार्फत शिक्षाको महत्व दर्शाउने बजिका भाषाको पहिलो फिचर फिल्म ‘आजुर’ पनि महोत्सवको विशिष्ट आकर्षण बनेको छ।

फिचर वृत्तचित्र खण्डमा ‘रेड लाइट टु लाइमलाइट’ र ‘सट द भ्वाइस अफ फ्रिडम’ जस्ता विश्वचर्चित वृत्तचित्रहरू समावेश छन्। ‘रेड लाइट टु लाइमलाइट’ ले कोलकाताका यौनकर्मीहरूको दैनिक जीवनलाई नजिकबाट देखाउँदै, उनीहरूका सन्तानलाई सिनेमा निर्माण सम्बन्धी तालिम दिँदा आएको आशा र परिवर्तनलाई उजागर गरेको छ। यो वृत्तचित्र ४१औँ आईडिए अवार्ड्समा दुई विधामा मनोनित भएको थियो।

चलचित्र प्रदर्शनका अतिरिक्त, महोत्सव अवधिभर विश्वभरबाट आएका फिल्म निर्देशक, निर्माता, कलाकार, र मानव अधिकारकर्मीहरूको उपस्थितिमा अन्तरक्रियात्मक प्यानल छलफल, मास्टरक्लास, फोटो प्रदर्शनी, लाइभपेन्टिङलगायतका विभिन्न रचनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu