
काठमाडौं – नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको नयाँ पोस्टर सार्वजनिक भएको छ, जसमा अभिनेत्री बेनिशा हमाललाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ। आगामी पुस १० गते रिलिज हुन लागेको यस साइकोलोजिकल थ्रिलर चलचित्रको पोस्टरले दर्शकहरूलाई आशा र निराशाको दोसाँधमा रहेको जीवनको कथा समेटिएको सङ्केत दिएको छ।
पोस्टरमा चलचित्रका मुख्य तीन कलाकारलाई स्थान दिइए पनि सम्पूर्ण ध्यान बेनिशा हमालको चरित्रमा केन्द्रित छ। उनलाई पोस्टरमा तीन भिन्न स्वरूपमा देखाइएको छ, जसले उनको पात्रको बहु आयामिकता झल्काउँछ। पोस्टरमा बाल कलाकार ग्रिस्मा कटुवाललाई आँखाभरि आँसु लिएर रोइरहेको अवस्थामा देखाइनुले कथावस्तुको भावनात्मक पक्ष पनि बलियो रहेको बुझिन्छ।
बलिराम चौहानको निर्देशनमा बनेको यो चलचित्र उनको डेब्यु निर्देशन पनि हो। ‘द ब्ल्यू लाइट’मा बेनिशा हमालसँगै अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी प्रमुख भूमिकामा छन्। बाल कलाकारहरूमा ग्रिस्मा कटुवालका साथमा सहारा शर्मा पनि रहेकी छिन्।






