
काठमाडौं – शोभित बस्नेत निर्देशित नेपाली चलचित्र ‘पीआर’ ओभरसिजमा जापान, अस्ट्रेलिया र न्युजिल्यान्डसहित हङकङ-मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ। निर्देशक बस्नेतका अनुसार हङकङ-मकाउ क्षेत्रका लागि फिल्म प्रदर्शन गर्ने जिम्मा हिमालयन क्राफ्ट एचके लिमिटेडका निर्देशक आकाश बन्जाराले लिएका छन्। त्यसै गरी, युरोपेली मुलुक पोर्चुगलमा भने कावासोती पोर्चुगल सङ्घका प्रतिनिधिहरू सुकदेव अधिकारी र महेश न्यौरेले प्रदर्शन अधिकार खरिद गरेका छन्।
आगामी मङ्सिर २६ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको यो चलचित्रले एक महिनाअघि अस्ट्रेलियाका विभिन्न सहरमा विशेष शोहरू सम्पन्न गरिसकेको छ। सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा आर.ए.सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्। यस्तै, चलचित्रमा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम के.सी.नेपाल र दिक्पाल कार्की विशेष भूमिकामा देखिएका छन्।






